Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कस्तो छ जितु नेपाल पहिलो पटक हिरो भएको फिल्म 'ह्यारीकी प्यारी'?

कस्तो छ जितु नेपाल पहिलो पटक हिरो भएको फिल्म 'ह्यारीकी प्यारी'?

जोईन खबर

२०, माघ २०७९
  • 1.5K
    SHARES
  • कस्तो छ जितु नेपाल पहिलो पटक हिरो भएको फिल्म 'ह्यारीकी प्यारी'?

    harry1675411902.jpg

    images

    हरिप्रसाद चौलागाईं (जितु नेपाल) को एउटा सपना छ- आफ्नो गाउँमा स्वास्थ्य चौकी बनाउने।

    images
    images
    images

    सपना साकार गर्न उनका काका जिते (विजय बराल) पनि संघर्षरत छन्। उनीहरूलाई जसरी पनि स्वास्थ्य चौकी बनाउनु छ।

    स्वास्थ्य चौकी बनाउन उनीहरू चन्दा उठाउनतिर लाग्छन्। गाउँलेहरूले साथ दिँदैनन्। चन्दा नउठेपछि उनीहरू पुर्ख्यौली जग्गा बेच्न तम्सिन्छन्। 

    उनीहरूको जग्गा बेच्ने योजना पनि असफल हुन्छ। स्वास्थ्य चौकी बनाउन पैसा कसरी जुटाउने भनेर छटपटाइ रहेका हरि अर्थात ह्यारीले एक दिन पत्रिकामा विज्ञापन देख्छन्, ‘विर्यदान गर्नेलाई ३० लाख दिने।’

    उक्त रकम उनको जीवनको एक मात्र लक्ष्य पूरा गर्न पर्याप्त हुन्थ्यो। तर पैसा पाउन सजिलो कहाँ हुन्छ र!

    उक्त विज्ञापन जेनी आरएल शाह (साम्राज्ञी आरएल शाह) ले दिएकी हुन्छिन्। उनी फिल्ममा डाक्टरको भूमिकामा देखिएकी छन्।

    उनलाई हजुरआमा (सरला रिजाल) ले विवाह गर्न दबाव दिइरहन्छिन्। जेनीले बिहे गरेर बच्चा जन्माएको हेर्ने उनको हजुरआमाको ठूलो रहर छ। जेनीलाई बिहे गर्नु छैन। त्यसैले उनी हजुरआमाको रहर पूरा गर्न टेस्टट्युब बेबी अर्थात् आइभिएफ (इनभिट्रो फर्टिलाइजेसन) प्रविधि रोज्छिन्।

    यो प्रविधिमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गरिन्छ।

    पैसाको खोजीमा रहेका ह्यारी र आइभिएफ प्रविधिबाट बच्चा जन्माउन चाहने जेनी सामाजिक मूल्यमान्यतालाई ध्यानमा राख्दै बिहे गर्न तयार हुन्छन्। सहरी वातावरणमा हुर्किएकी जेनी र गाउँले परिवेशमा हुर्किएका ह्यारीको जीवनमा बिहेले ल्याउने उतारचढाव फिल्ममा देखाइएको छ।

    त्यस्तै दुई जनाले आआफ्नो स्वार्थ पूरा गर्न सम्बन्ध बाँध्दा कस्ता अप्ठ्याराहरू सामना गर्नुपर्छ भन्ने पनि फिल्मले देखाएको छ।

    अनि ह्यारीले गाउँलेका लागि स्वास्थ्य चौकी बनाउन किन संघर्ष गरिरहेका छन् भन्ने थाहा पाउन फिल्म ‘ह्यारीकी प्यारी’ हेर्नु पर्छ।

    समग्रमा ह्यारीकी प्यारी ड्रामा फिल्म हो।

    यो फिल्म चर्चित डाक्टर भोला रिजालका छोरा दन्त चिकित्सक कपिल रिजालले निर्देशन गरेका हुन्। यो उनको डेब्यु फिल्म हो। फिल्मको कथा पनि कपिल आफैंले तयार पारेका हुन्।

    फिल्म निर्देशनमा पहिलो पटक उत्रेका कपिलको कथा भन्ने शैली टेलिशृंखलाको जस्तो देखिन्छ। उनले फिल्मजस्तै देखाउन सक्दो प्रयास गरे पनि दर्शकलाई सिरियल हेरेको भान हुन सक्छ।

    फिल्मको कथा भने नयाँ छ। नेपालको सन्दर्भमा विर्यदानको विषयवस्तु उठान गर्नु नौलो हो। यस्तो विषयले फिल्मप्रति पक्कै आर्कषित गराउँछ। तर प्रस्तुति फितलो भएकै कारण अब्बल बन्ने सम्भावना हुँदाहुँदै फिल्म औसत बनेको छ।

    यसको अर्को राम्रो पक्ष फिल्ममा जबरजस्ती हँसाउन द्विअर्थी संवादहरू प्रयोग गरिएको छैन। मुख्य कलाकारहरू धेरैजसो हाँस्य विधामै जमेका भए पनि उनीहरूले गम्भीर अभिनयमा उत्तिकै मेहनत गरेका छन्।

    त्यस्तै यसमा प्रयोग भएको सरल भाषा र संवादहरूले फिल्मलाई स्वाभाविक बनाएको छ।

    कथा नयाँ र राम्रो सम्भावना बोकेको भए पनि फिल्मको शैलीमा नयाँपन छैन। पछिल्लो समय फिल्ममा चलेजस्तै ३–४ वटा सामान्य गीत र एउटा आइटम गीत। यति भए फिल्म चल्छ भन्ने मान्यतालाई कपिलले पनि आत्मसात गरेका छन्।

    तर कथामा फिट नै नहुने गरी राखिएका कमजोर गीत सुन्दा नराखेको भए पनि हुन्थ्यो जस्तो लाग्छ। फिल्मी दुनियाँमा प्रवेश गरेका नयाँ निर्देशकले नयाँ कुरा पस्किन खास मेहनत गरेको भान हुँदैन।

    यो फिल्म जितु नेपालका लागि भने एकदमै विशेष छ। यसमा उनी पहिलो पटक प्रमुख भूमिकामा देखिएका छन् ।

    कमेडी जनरामा काम गर्दै र दर्शकले पनि रूचाउँदै आएका जितुलाई यस फिल्मले गम्भीर भूमिका निर्वाह गर्न मेहनत गरेको देखिन्छ। ह्यारीकी प्यारी हेरिरहँदा टेलिशृंखला ‘जिरे खुर्सानी’ का मुन्द्रे या 'छक्का पन्जा' मा कमेडी भूमिकामा देखिँदै आएका जितुको छवि आउँदैन। 

    भावुक दृश्यमा भने उनी चुकेको महसुस हुन्छ। उनका आँखाबाट झरेका आँशुले दर्शकलाई भावुक बनाउँदैन। 

    फिल्ममा मुख्य भूमिका निर्वाह गरेका जितुसँगै साम्राज्ञी आरएल शाहको अभिनय पनि औसत छ। 

    साम्राज्ञीकी साथीको भूमिकामा देखिएकी रञ्जना भट्टराई, ह्यारीको काकाको भूमिका विजय बराल र ह्यारीकी हजुरआमा भूमिकामा देखिएकी लक्ष्मी गिरीको भने अभिनय राम्रो छ। 

    फिल्ममा डाक्टर भोला रिजालको पनि केही झलक देख्न सकिन्छ। डाक्टरकै भूमिकामा देखिएका उनको अभिनय स्वाभाविक लाग्छ।

    उनकी श्रीमती सरला रिजालको भने फिल्ममा मुख्य भूमिका नै छ। उनलाई अभिनय गर्न सहज नभएको प्रष्टै देखिन्छ। उनको डबिङ पनि गौरी मल्लले गरेकी छन्। सरलाले बोलेका संवाद र अभिनयमा कुनै तालमेल छैन। 

    फिल्मको राम्रो पक्ष भनेको सम्पादन हो। फिल्मको कहानीको प्रवाहअनुसार सिलसिलाबद्ध रूपमा राखिएको छ तर क्लाइमेक्स फितलो छ। 

    ह्यारीकी प्यारी शुक्रबारदेखि सिनेमा हलमा लागेको छ।

    प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - १५:२१:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको