Logo

शुक्रवार, भाद्र २६ गते २०८३

२२ वर्षदेखि गाउँमै रहेर जनसेवामा सक्रिय जितबहादुर नेपाली, गाउँ बचाउने अभियानमा निरन्तर

२२ वर्षदेखि गाउँमै रहेर जनसेवामा सक्रिय जितबहादुर नेपाली, गाउँ बचाउने अभियानमा निरन्तर

जोईन खबर

२०, श्रावण २०८३
  • 3.1K
    SHARES
  • २२ वर्षदेखि गाउँमै रहेर जनसेवामा सक्रिय जितबहादुर नेपाली, गाउँ बचाउने अभियानमा निरन्तर

    २० साउन काठमाडौँ । देशभरका अधिकांश युवा रोजगारी, अध्ययन तथा अवसरको खोजीमा शहर तथा विदेशतर्फ गइरहेका बेला गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोटका जितबहादुर नेपाली विगत २२ वर्षदेखि आफ्नै गाउँमै बसेर सामाजिक सेवा, स्थानीय विकास र राजनीतिमा निरन्तर सक्रिय छन्।

    images

    सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएका नेपालीले २०६१ सालमा एसएलसी उत्तीर्ण गरेपछि गाउँ नछोड्ने निर्णय गरेका थिए। सोही समयदेखि तत्कालीन नेकपा (माओवादी) को राजनीतिक गतिविधिमा सक्रिय बन्दै उनले तत्कालीन गोरखा निर्वाचन क्षेत्र नं. ३ तथा इलाका नं. ३ मा संगठन विस्तार, सामाजिक अभियान तथा स्थानीय विकासका विभिन्न गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

    उनको जीवन निरन्तर संघर्षले भरिएको छ। २०५५ सालमा २२ वर्षको उमेरमै जेठी दिदीको निधन भयो। त्यसपछि २०६० सालमा बुवाको, २०७३ सालमा जेठा दाजुको तथा २०७७ सालमा आमाको निधन भयो। लगातारका पारिवारिक पीडाबीच पनि उनले गाउँ छोड्ने बाटो रोजेनन्। अहिले उनी आफ्ना परिवार र दुई छोरासहित गाउँमै बस्दै कृषि, समाजसेवा तथा राजनीतिलाई निरन्तरता दिइरहेका छन्।उनका कान्छा भाइ धिरज उपरकोटी पनि राजनीतिमा सक्रिय छन्। उनी हाल वाईसिएल नेपालको केन्द्रीय सचिवको जिम्मेवारीमा काठमाडौंमा कार्यरत छन्।

    दलित समुदायमा सामाजिक एकताको अभियान

    ताकुकोटको दलित समुदायमा सामाजिक एकता र सहयोगको भावना विकास गर्न जितबहादुर नेपालीले स्थानीय गुठी सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका छन्। गुठीमार्फत प्रत्येक परिवारबाट मासिक १०० रुपैयाँ संकलन गरी बिरामी, विपद् वा आर्थिक समस्यामा परेका सदस्यलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। यही गुठीमार्फत सामुदायिक कार्यक्रमका लागि आवश्यक सामग्रीसमेत खरिद गरिएको छ।

    उनले स्थानीय समुदायसँग सहकार्य गर्दै मृत्यु संस्कारका अवसरमा हुने मदिरा सेवनको चलन हटाउन जनचेतनामूलक अभियानसमेत सञ्चालन गरेका थिए। स्थानीयका अनुसार अहिले अधिकांश सामाजिक कार्यक्रम मदिरामुक्त रूपमा सञ्चालन हुन थालेका छन्।

    विकास निर्माणमा निरन्तर सक्रियता

    स्थानीय तह गठन हुनुअघि गाविसको समयमा पनि नेपाली सर्वदलीय बैठक तथा स्थानीय विकाससम्बन्धी छलफलमा सक्रिय सहभागी हुँदै आएका थिए। उनले ताकुकोटका विभिन्न बस्तीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाको पहुँच विस्तार गर्न निरन्तर आवाज उठाएका थिए।

    २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका क्रममा प्रभावित परिवारले सरकारी अनुदान तथा सेवा–सुविधा सहज रूपमा प्राप्त गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यमा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

    हाल बारपाक सुलिकोट गाउँपालिकाका कार्यपालिका सदस्य रहेका नेपाली वडा नं। ६ का विभिन्न बस्तीमा नियमित रूपमा पुगेर स्थानीय समस्या बुझ्ने, विकास योजनाको अनुगमन गर्ने तथा गाउँपालिका र स्थानीयवासीबीच समन्वय गर्ने कार्यमा सक्रिय छन्। मसार, उल्टे, भालुस्वारा, डाँडागाउँ, केयुरीपानी, मोहरिया, कोटर्थोक, मेलबोट, माझगाउँ, ढापे, भालेढुङ्गा, डाँडाथोक, पोखरी, गैरा, चाहापानी, पाल्खु, बाहाकोट र मैलुङलगायतका बस्तीमा उनी नियमित रूपमा पुग्ने गरेका छन्।

    उपभोक्ता समिति गठन, सडक मर्मत, पहिरो व्यवस्थापन, विकास आयोजनाको अनुगमन, महिला सशक्तीकरण, सीपमूलक तालिम तथा अन्य सामाजिक कार्यक्रमहरूमा पनि उनको सक्रिय सहभागिता रहँदै आएको छ।

    युवापलायनप्रति चिन्ता

    जितबहादुर नेपाली गाउँको विकाससँगै बढ्दो जनसंख्या पलायनप्रति चिन्तित छन्। उनका अनुसार विगतको तुलनामा अहिले गाउँमा सडक, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारमा उल्लेखनीय सुधार भए पनि युवाको पलायनका कारण खेतबारी बाँझो बन्दै गएका छन्, विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ र गाउँको सामाजिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ।

    उनी भन्छन्, हिजो विकासका आधारभूत पूर्वाधार थिएनन्। आज सडक, अस्पताल, विद्यालय र सेवा–सुविधा गाउँमै पुगेका छन्। तर गाउँमा बस्ने युवा घटेका छन्। अब गाउँलाई बचाउने जिम्मेवारी हामीजस्ता युवाकै काँधमा छ।

    गाउँमै बसेर जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा राजनीतिक कार्यकर्ताका रूपमा निरन्तर सक्रिय रहेका जितबहादुर नेपाली स्थानीय विकास, सामाजिक सद्भाव र जनसेवाप्रतिको समर्पणका कारण ताकुकोट क्षेत्रमा परिचित र विश्वासिलो व्यक्तित्वका रूपमा स्थापित भएका छन्। उनको सक्रियता गाउँमै बसेर परिवर्तन सम्भव छ भन्ने सन्देश दिने उदाहरणका रूपमा समेत हेरिएको छ।

    प्रकाशित मिति :श्रावण २०, २०८३ बुधवार - १५:३६:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको