३१ असार काठमाडौँ । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । अर्जेन्टिनाले लगातार दोस्रो पटक पनि उपाधि हात पारेको हो । यस खेलमा उपाधि हात पारेको अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० गोल हराएको छ ।
जितको लागि अर्जेन्टिनाका खेलाडी लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गरेको गोल नै उपाधि जितेको छ । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् ।लिसान्द्रो मार्टिनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकलपछि प्राप्त मौकामा उनले गोल गरेका थिए ।
६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका कारण गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो ।२०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि जितेको थियो ।फाइनलमा गोल गर्ने लौतारोले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।