१० कार्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।
दिउँसो १२ः३० बजे सुरु हुने खेलमा विराटनगर किंग्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। त्यससँगै चितवन राइनोजले पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्य राखेको छ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर मैदानमा उत्रनेछ। मार्की खेलाडीसमेत रहेका सन्दीपको कप्तानीमा विराटनगर यस सिजन सुखद सुरुवात गर्ने योजनामा छ।
एनपीएलको पहिलो संस्करणमा निराशाजनक प्रदर्शन गरेको विराटनगरले दोस्रो संस्करणमा भने सुधार गर्दै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। त्यसैले यसपटक टोली प्रतियोगिताको सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्ने लक्ष्यमा रहनेछ।
अर्कोतर्फ, रवि बोपाराको कप्तानीमा रहेको चितवन राइनोज पनि जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ। एनपीएलका अघिल्ला दुई संस्करणमा खेलाडीका रूपमा सहभागी भएका पाकिस्तानी पूर्वक्रिकेटर सोहेल तनविर यसपटक चितवनको प्रशिक्षकको भूमिकामा छन्।
विराटनगर र चितवनबीच कडा प्रतिस्पर्धाको अपेक्षा
विराटनगर किंग्स र चितवन राइनोजबीच एनपीएलका अघिल्ला दुई संस्करणमा भएका भेटमा दुवै टोलीले एक–एक खेल जितेका छन्। यसले आजको खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
पहिलो संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले ६ विकेट गुमाएर १३० रन मात्रै बनाउन सकेपछि विराटनगर विजयी भएको थियो।
दोस्रो संस्करणमा भने चितवनले विराटनगरसँग हारको बदला लिँदै ४८ रनको जित निकालेको थियो। चितवनले पाँच विकेट गुमाएर १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६।५ ओभरमा १२६ रनमै समेटिएपछि चितवनले सहज जित निकालेको थियो।
चितवनले पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो। दुवै टोलीबीचको विगतको प्रतिस्पर्धालाई हेर्दा आजको खेलमा पनि रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।
साँझ कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने
आजको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।
एकै दिन दुई खेल हुन लागेकाले एनपीएलका समर्थकका लागि आजको दिन थप रोमाञ्चक बन्नेछ। पहिलो खेलमा विराटनगर र चितवनबीचको प्रतिस्पर्धा तथा दोस्रो खेलमा कर्णाली र जनकपुरबीचको भिडन्तले प्रतियोगिताको माहोललाई थप तताउने अपेक्षा गरिएको छ।