२ असोज काठमाडौँ । गोरखा भिमसेन थापा गाउँपालिकाले ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका स्थानीय उद्यम तथा कृषि मेसिनरी केन्द्रको भौतिक अवस्थाबारे अनुगमन गरेको छ।
गाउँपालिका–८ मा सञ्चालनमा रहेको दुना–टपरी सेन्टरको गाउँपालिकाले अनुगमन गरेको हो। स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थको प्रयोग गरी रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत दुना–टपरी सेन्टर सञ्चालनमा ल्याइएको हो।
अनुगमनका क्रममा वडा नम्बर ८ मा ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत श्री सिर्जनशील बचत तथा ऋण सहकारी संस्थामार्फत सञ्चालित दुना–टपरी तथा कस्टम हायरिङ सेन्टरको अवस्थाबारे जानकारी लिइएको थियो।
त्यस्तै, वडा नम्बर ७ मा रहेको श्री उद्यमशील साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालनमा रहेको कृषि मेसिनरी तथा औजारको अवस्थासमेत गाउँपालिकाको टोलीले निरीक्षण गरेको छ।
अनुगमनका क्रममा सम्बन्धित संस्था तथा सञ्चालकसँग उद्यम सञ्चालनको अवस्था, प्रयोगमा रहेका सामग्री तथा कृषि उपकरणको अवस्था र कार्यक्रमबाट स्थानीयस्तरमा भइरहेको लाभबारे जानकारी लिइएको थियो।
गाउँपालिकाले स्थानीय उत्पादन, उद्यमशीलता तथा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएरनभएको बुझ्न अनुगमन गरिएको जनाएको छ।
स्थानीय तहबाट उपलब्ध गराइएका स्रोत तथा साधनको उचित उपयोग गर्दै उद्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नियमित अनुगमन आवश्यक रहेको गाउँपालिकाको भनाइ छ। यसबाट स्थानीय रोजगारी सिर्जना, उत्पादन वृद्धि र कृषिमा प्रविधिको प्रयोग विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।