२ असोज काठमाडौं — नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौंमा जिल्ला तथा क्षेत्रीय संयोजक तोकेको छ। शुक्रबार क्षेत्रपार्टी पार्टी प्यालेसमा बसेको बैठकले महाधिवेशन केन्द्रित जिम्मेवारी बाँडफाँट गरेको हो।
इतर समूहले नेता जयकृष्ण महर्जनलाई काठमाडौं जिल्ला संयोजक तोकेको नेता प्रकाशमान सिंहको सचिवालयले जनाएको छ। महर्जन काठमाडौं–९ का क्षेत्रीय सभापति हुन्। महाधिवेशनका लागि खटाइएका केन्द्रीय प्रतिनिधि कल्याणी रिजालसहित बसेको बैठकले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा पनि संयोजक तोकेको छ।
बैठकले काठमाडौं क्षेत्र नम्बर १ मा कुश ढकाल, क्षेत्र नम्बर २ मा अर्जुन पराजुली, क्षेत्र नम्बर ३ मा लालु लामा र क्षेत्र नम्बर ४ मा सन्तोष भण्डारीलाई संयोजकको जिम्मेवारी दिएको छ। त्यस्तै, क्षेत्र नम्बर ५ का सभापति श्यामकृष्ण खड्का र क्षेत्र नम्बर ६ का सभापति श्याम खड्गीले इतर समूहको तर्फबाट महाधिवेशन प्रक्रिया अघि बढाउने भएका छन्।
क्षेत्र नम्बर ७ मा मनहरि तिवारी, क्षेत्र नम्बर ८ मा टेवेन्द्ररत्न शाक्य र क्षेत्र नम्बर १० मा शैलेश मानन्धरलाई संयोजक तोकिएको छ।काठमाडौं–९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जनलाई नै जिल्ला संयोजकको जिम्मेवारी दिइएकाले उक्त क्षेत्रमा भने क्षेत्रीय संयोजक तोक्न बाँकी रहेको जनाइएको छ।
कांग्रेस इतर समूहले १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। वडा अधिवेशनको तयारीसँगै जिल्ला तथा क्षेत्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिइएको हो।महाधिवेशनको प्रारम्भिक प्रक्रियाअन्तर्गत वडा तहदेखि नै संगठनात्मक गतिविधि अघि बढाउने तयारीअनुसार संयोजकहरू तोकिएको बताइएको छ।