६ भदौ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई लामो समयदेखि सहयोग गर्दै आएको फ्रान्सेली समूह ‘लेजामी दि लाप्राक’ (लाप्राकको साथी) का प्रतिनिधिलाई स्थानीयले भव्य स्वागत गरेका छन्।
फ्रान्सेली नागरिकहरूको उक्त समूहले लाप्राकको शैक्षिक तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। हालै विद्यालयमा पुगेका फ्रान्सेली सहयोगीहरूलाई स्थानीयवासी, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीले स्वागत गरेका हुन्।
‘लाप्राकको साथी’ समूहसँग लाप्राकको सम्बन्ध झण्डै तीन दशक पुरानो छ। सन् १९९७ मा प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै नेपाल आएका विदेशी पर्यटकको टोली लाप्राक पुगेको थियो। टोलीका सदस्यहरू लाप्राकको प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति, जीवनशैली र शैक्षिक अवस्थाबाट प्रभावित भएका थिए।
क्रिस्टिनको नेतृत्वमा आएको उक्त टोलीले स्थानीयवासीसँगको सहकार्यमा ‘लाप्राकको साथी’ नामक समूह गठन गरेको थियो। त्यसयता उक्त समूहले लाप्राकमा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको स्थानीयको भनाइ छ। समूहमा आबद्ध भएर लाप्राक आउने फ्रान्सेली नागरिकलाई स्थानीयले आत्मीयतापूर्वक स्वागत गर्दै आएका छन्।
लाप्राकमा फ्रान्सेली समूहको सहयोग र स्थानीयस्तरमा हुने सहकार्यलाई थप प्रभावकारी बनाउन ‘गणेश हिमाल एसोसिएसन’ नामक संस्थाले समेत साझेदारी गर्दै आएको छ। संस्थामार्फत शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग आदानप्रदान हुँदै आएको जनाइएको छ।
हालै विद्यालयमा आएका फ्रान्सेली सहयोगीलाई स्वागत गर्दै शिक्षक तथा विद्यार्थीले उनीहरूको योगदानप्रति आभार व्यक्त गरेका थिए। लामो समयदेखि कायम रहेको नेपाल–फ्रान्स नागरिकस्तरको सम्बन्धले लाप्राकको शिक्षा र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउँदै आएको स्थानीयको भनाइ छ।
स्थानीय र फ्रान्सेली नागरिकबीचको यो सम्बन्ध सहयोगमा मात्र सीमित नभई दुई देशका समुदायबीचको सांस्कृतिक तथा मानवीय सम्बन्धको उदाहरणका रूपमा समेत विकसित हुँदै गएको छ।