१४ असोज काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नुवाकोट क्षेत्र नम्बर २ बाट दलिततर्फ युवा नेता रामकृष्ण सुनारले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
पार्टी संगठनलाई थप सुदृढ बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको सुनारले बताएका छन्। उनले पार्टीमा अग्रजहरूको अनुभव र युवाको जोशलाई समेटेर नेतृत्व अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सुनारले ‘अग्रजको अनुभव, युवाको जोश’ सहितको नेतृत्व अहिलेको आवश्यकता रहेको बताए। उनका अनुसार पार्टीको नीति, संगठन र आगामी यात्रालाई प्रभावकारी बनाउन अनुभवी नेताहरूको मार्गदर्शनसँगै युवाको सक्रियता र सिर्जनशीलतालाई पनि उचित स्थान दिन आवश्यक छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई थप गतिशील बनाउन, युवाको सहभागिता बढाउन तथा दलित समुदायको आवाजलाई पार्टीको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउन आफ्नो भूमिका रहने सुनारले बताएका छन्।
उनले नेपाली कांग्रेसलाई समावेशी, सुदृढ र जनमुखी पार्टीका रूपमा अघि बढाउन सबै तहका नेता तथा कार्यकर्ताबीच सहकार्य र एकताको आवश्यकता रहेको उल्लेख गरे।
नुवाकोट क्षेत्र नम्बर २ बाट दलिततर्फ आफ्नो उम्मेदवारीलाई पार्टीका नेता–कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले साथ दिने विश्वास व्यक्त गर्दै सुनारले संगठनप्रतिको प्रतिबद्धता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।