Logo

मंगलवार, कार्तिक ११ गते २०८३

खुलामञ्चमै कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र, २१ र २२ गते निर्वाचन

खुलामञ्चमै कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र, २१ र २२ गते निर्वाचन

जोईन खबर

१८, आश्विन २०८३
  • 391
    SHARES
  • खुलामञ्चमै कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र, २१ र २२ गते निर्वाचन

     

    images

    १८ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह र बन्दसत्र एउटै स्थान अर्थात् काठमाडौंको खुलामञ्चमा हुने भएको छ। महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ।

    images
    images
    images

    कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। महाधिवेशन प्रतिनिधिहरूको ठूलो संख्यालाई व्यवस्थापन गर्न खुलामञ्चमै बन्दसत्रका लागि छुट्टाछुट्टै ठूला संरचना निर्माण गरिएको छ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई भूगोलका आधारमा समूह विभाजन गरी विभिन्न हलमा छलफल गराउने तयारी गरिएको छ।

    बन्दसत्रका लागि खुलामञ्चमा निर्माण गरिएका तीन ठूला संरचनालाई ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नाम दिइएको छ। प्रत्येक संरचनामा डिजिटल बोर्डको व्यवस्था गरिएको छ। त्यसबाट महाधिवेशन प्रतिनिधिले प्रस्तुत गरिएका प्रतिवेदन सुन्न तथा हेर्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार १५औँ महाधिवेशनमा करिब ७ हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले उद्घाटन र बन्दसत्रका लागि खुलामञ्चमा आवश्यक संरचना तयार गरिएको हो।महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूलाई प्रचारप्रसारका लागि डिजिटल माध्यम प्रयोग गर्न कांग्रेसले आग्रह गरेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयन दर्तालगायत निर्वाचनसम्बन्धी विस्तृत कार्यक्रम छुट्टै कार्यतालिकाअनुसार अघि बढाइनेछ।

    कांग्रेसको नयाँ व्यवस्थाअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बनाउने प्रस्ताव छ। यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि, बन्दसत्रबाट पार्टी विधानमा आवश्यक हेरफेरको प्रक्रिया अघि बढ्ने भएकाले अन्तिम संरचना त्यसबाट प्रभावित हुन सक्नेछ।यसपटक कांग्रेसले विद्युतीय मतदान प्रणाली प्रयोग नगर्ने भएको छ। प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै परम्परागत मतदान प्रणालीबाटै निर्वाचन गर्ने तयारी गरिएको छ।

    महाधिवेशन प्रतिनिधिहरूको आवासका लागि काठमाडौंका एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा होटल तथा अन्य व्यवस्थापन गरिएको छ। प्रतिनिधिहरूका लागि बिहान, दिउँसो र साँझको भोजन भने भृकुटीमण्डपमा व्यवस्था गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ।महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

     

    प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - १३:३८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको