२१ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो।
प्रकाशित नामावलीअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, कांग्रेसले यसै महाधिवेशनबाट सिर्जना गरेको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी उल्लेख छ।त्यसैगरी महिला उपसभापतिमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भइसकेकी छन्। खुलातर्फका उपसभापति पदमा भने विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा समावेश उम्मेदवारको उम्मेदवारीबारे कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
दाबी–विरोध तथा आपत्तिसम्बन्धी प्रक्रिया पूरा गरेपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ।कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भइसकेपछि अब निर्वाचन समितिले दाबी–विरोधको प्रक्रिया टुंग्याएर अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार भोलि मतदान हुनेछ। मतदानसँगै कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्नेछ।