२२ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फका उम्मेदवार प्रेमकुमार खत्रीले महाधिवेशनस्थलमा आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन्।
गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका खत्रीले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो उम्मेदवारीका पक्षमा समर्थन मागिरहेका छन्। उनले कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै जनतासँग जोडिएको पार्टी निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
खत्रीले लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा सहयोग गर्दै आएको बताइएको छ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा आफ्नो अनुभवलाई पार्टीको संगठन र नीतिनिर्माणमा उपयोग गर्ने उद्देश्यसहित उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
महाधिवेशनस्थलमा खत्रीका समर्थक तथा शुभेच्छुकले समेत प्रचारप्रसार गरिरहेका छन्। प्रतिनिधिहरूसँगको भेटघाटलाई तीव्र बनाउँदै खत्रीले आफ्नो उम्मेदवारी र आगामी कार्यदिशाबारे जानकारी गराइरहेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान ७ बजेदेखि मतदान हुने कार्यक्रम रहेको छ।
मतदानको मिति नजिकिँदै गर्दा केन्द्रीय सदस्यका विभिन्न पदका उम्मेदवारहरूले प्रतिनिधिहरूसँग भेटघाट तथा प्रचारप्रसारलाई तीव्र बनाएका छन्। खत्री पनि महाधिवेशनस्थलमै रहेर आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय देखिएका छन्।