२३ असोज गोरखा । गोरखाको पालुङटार नगरपालिकामा आगामी असोज २९ गते ऐतिहासिक १२औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। दुई वर्षको प्राविधिक तथा परिस्थितिजन्य स्थगनपछि हुन लागेको प्रतियोगिता चेपे र मर्स्याङ्दी नदीको संगमस्थल चेपेघाटदेखि लिगलिगकोट गढीसम्म सञ्चालन हुनेछ।
पालुङटार नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा धावकहरूले चेपेघाटदेखि समुद्री सतहबाट करिब ४ हजार ७९० फिट उचाइमा रहेको लिगलिगकोटसम्मको १३.८ किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितालाई ऐतिहासिक पहिचानको संरक्षण, खेलकुद प्रवर्द्धन तथा साहसिक पर्यटन विकाससँग जोडेर भव्य रूपमा सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ।
लिगलिगे दौड केवल खेलकुद प्रतियोगिता मात्र नभई नेपालको मौलिक इतिहास, संस्कृति र लोकतान्त्रिक अभ्यासको स्मरण गराउने महत्त्वपूर्ण उत्सवका रूपमा स्थापित हुँदै आएको छ। दौडमा प्रथम हुने धावकलाई श्रीपेच, पगरी, नगद पुरस्कार र साङ्केतिक राजाको उपाधिसहित एक वर्षका लागि ‘अवैतनिक पर्यटन दूत’ का रूपमा सम्मान गर्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ।
दौडिएर राजा छान्ने ऐतिहासिक परम्परा
लिगलिगकोट नेपालको इतिहासमा दौड प्रतियोगितामार्फत राजा छनोट गर्ने परम्पराका कारण विशेष महत्त्व राख्ने स्थल हो। ऐतिहासिक विवरणअनुसार विसं १६०४ को विजयादशमीका दिन चेपेघाटबाट दौडिएर प्रथम भएका दलसुर घले मगर लिगलिगकोटका राजा बनेका थिए।
त्यसपछि विसं १६१६ को विजयादशमीका दिन लमजुङका अधिराजकुमार द्रव्य शाहले लिगलिगकोटमा आफ्नो प्रभुत्व कायम गर्दै गोरखा राज्यको स्थापना गरेका थिए। यही ऐतिहासिक पृष्ठभूमिले लिगलिगकोटलाई नेपालको राज्य निर्माण र एकीकरणको इतिहाससँग जोडेको छ।
लिगलिगकोट ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका साथै प्राकृतिक सौन्दर्यका दृष्टिले पनि महत्त्वपूर्ण गन्तव्य हो। यहाँबाट बौद्ध हिमाल, मनास्लु, हिमालचुली र गणेश हिमालका हिमशृङ्खलासँगै मर्स्याङ्दी र दरौदी नदीका उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा कालिका माई, भूमे, भीमसेन र द्रव्यदेवीका मन्दिर, ऐतिहासिक गढी, पुराना दरबारका भग्नावशेष तथा प्राचीन शिलालेखसमेत रहेका छन्।
पर्यटन र स्थानीय अर्थतन्त्रलाई जोड्ने लक्ष्य
नगरपालिकाले विसं २०६७ देखि आधुनिक खेलकुद उत्सवका रूपमा पुनः सञ्चालन हुँदै आएको लिगलिगे दौडलाई साहसिक पर्यटन र स्थानीय आर्थिक समृद्धिको माध्यम बनाउने लक्ष्य लिएको छ। प्रतियोगिताको विकासमा योगदान पुर्याउने कन्सेप्ट नेपाल, लिगलिग विकास अभियान, विभिन्न संघसंस्था तथा स्थानीयवासीप्रति नगरपालिकाले आभार व्यक्त गरेको छ।
चेपेघाटदेखि लिगलिगकोटसम्मको १३।८ किलोमिटर मार्गलाई अन्तर्राष्ट्रियस्तरको ट्रेल रनिङ तथा ऐतिहासिक पदयात्रा गन्तव्यका रूपमा विकास गर्ने नगरपालिकाको योजना छ। प्रतियोगिताले स्थानीय होमस्टे, अर्गानिक कृषि उपज, हस्तकला तथा साना व्यवसायको प्रवर्द्धन गर्नुका साथै स्थानीय युवाका लागि रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सुरक्षा र व्यवस्थापनको तयारी
प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न नगरपालिकाले राजनीतिक दल तथा सरोकारवालाको प्रतिनिधित्व रहने गरी सात सदस्यीय सर्वपक्षीय सहजीकरण समिति गठन गरेको जनाएको छ।दौड मार्गमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ। साथै, प्राथमिक स्वास्थ्य उपचार टोली, एम्बुलेन्स सेवा तथा खानेपानीको व्यवस्थासमेत मिलाइएको नगरपालिकाले जनाएको छ।
साझा ऐतिहासिक धरोहरको संरक्षणमा जोड
नगरपालिकाले लिगलिगकोट कुनै व्यक्ति, समूह वा राजनीतिक दलको मात्र सम्पत्ति नभई सम्पूर्ण पालुङटारवासी र नेपालीको साझा ऐतिहासिक धरोहर भएको उल्लेख गरेको छ। यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, युवा क्लब, व्यवसायी, खेलाडी तथा सञ्चारकर्मीलाई एकजुट हुन आह्वान गरिएको छ।
नगरपालिकाले आगामी असोज २९ गते चेपेघाट र लिगलिगकोटमा उपस्थित भई ऐतिहासिक दौड प्रतियोगितालाई सफल बनाउन नगरवासी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र आम नागरिकलाई अपिल गरेको छ।लिगलिगे दौडलाई इतिहास, खेलकुद र पर्यटनको संगमका रूपमा विकास गर्दै पालुङटारको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने नगरपालिकाको लक्ष्य छ।