२५ असोज काठमाडौँ । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार, राहत वितरण तथा सुरक्षित स्थानान्तरणका लागि योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल, गोरखाले स्वयंसेवक परिचालन गरेको जनाएको छ।बाढी प्रभावितको उद्धार तथा राहतका लागि संगठनका स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको वाईसीएल गोरखाले जनाएको हो। बिहानदेखि आएको बाढीले बूढीगण्डकी नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ।
बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण भने आइसकेको छैन।वाईसीएल गोरखाका अनुसार बाढीको पूर्वसूचना पाएपछि यारुबगरको जंगललगायत सुरक्षित क्षेत्रतर्फ लागेका केही स्थानीय नागरिक भिरपहरामा फसेको सूचना प्राप्त भएको छ। उनीहरूको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि संगठनले स्वयंसेवकलाई तयारी अवस्थामा राखेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक सहयोग गरिने वाईसीएल गोरखाका अध्यक्ष पुष्प ओलीले जानकारी दिएका छन्।वाईसीएल गोरखाले उद्धार तथा राहतसम्बन्धी समन्वयका लागि संगठनका इन्चार्ज सागर श्रेष्ठ र अध्यक्ष सुशील गुरुङलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।
आपत्कालीन सम्पर्क नम्बर
( सागर श्रेष्ठ (इन्चार्ज), ९८४९७४७३६५
( सुशील गुरुङ (अध्यक्ष), ९८६११५२३३३
नागरिकको दुःख–सुखमा साथ दिँदै आएको संगठनले यसअघि भोटेकोसीमा बाढी आएलगत्तै उद्धार तथा राहत वितरणमा खटिएको जनाएको छ। अहिले पनि उक्त क्षेत्रमा बाढीका कारण घरबारविहीन भएका नागरिकलाई सहयोग गर्ने कार्यमा वाईसीएल सक्रिय रहेको बताइएको छ।बूढीगण्डकीमा आएको आकस्मिक बाढीले नदी आसपासका बस्तीमा क्षति पुर्याउनुका साथै स्थानीय नागरिकलाई जोखिममा पारेपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणको आवश्यकता बढेको छ। यस्तो अवस्थामा जोखिममा परेका नागरिकको शीघ्र उद्धारका लागि सम्बन्धित निकाय र स्वयंसेवकबीच समन्वय आवश्यक देखिएको छ।