Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म विनोद चौधरीको राजनीतिक छलाङ, समावेशी कोटाबाट निरन्तर सफलता

एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म विनोद चौधरीको राजनीतिक छलाङ, समावेशी कोटाबाट निरन्तर सफलता

जोईन खबर

२६, आश्विन २०८३
  • 364
    SHARES
  • एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म विनोद चौधरीको राजनीतिक छलाङ, समावेशी कोटाबाट निरन्तर सफलता

    २६ असोज काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले उद्योग–व्यवसायसँगै राजनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्दै आएका छन्। उद्योगीका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएका चौधरीको राजनीतिक यात्रा नेकपा एमालेको समानुपातिक सांसददेखि नेपाली कांग्रेसको उपसभापतिसम्म आइपुगेको छ। उनको राजनीतिक यात्राको एउटा उल्लेखनीय पक्ष भनेको विभिन्न चरणमा समावेशी प्रतिनिधित्वको व्यवस्थामार्फत पार्टीको नेतृत्व तहमा पुग्नु हो।

    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चौधरी समावेशी कोटाअन्तर्गत उपसभापतिमा निर्वाचित भएका छन्। उनले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापतिको जिम्मेवारी हासिल गरेका हुन्। यससँगै उद्योग–व्यवसायबाट राजनीतिमा प्रवेश गरेका चौधरी कांग्रेसको शीर्ष नेतृत्व तहमा पुगेका छन्।

    images
    images
    images

    फोर्ब्स म्यागेजिनले सन् २०२५ मा सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार चौधरीको सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर थियो। उक्त सूचीमा उनी विश्वका अर्बपतिमध्ये १ हजार ९८२औँ स्थानमा थिए।

    ७० वर्षीय चौधरी चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका अध्यक्ष हुन्। उनले विगतमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको नेतृत्वसमेत गरिसकेका छन्। उनको व्यावसायिक समूह विभिन्न देशमा फैलिएको छ। चाउचाउको विश्व बजारमा चर्चित वाइ–वाइ ब्रान्डमार्फत पनि चौधरीले अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान बनाएका छन्।

    एमालेबाट सुरु भएको राजनीतिक यात्रा

    चौधरीको औपचारिक राजनीतिक यात्रा २०६४ सालमा नेकपा एमालेबाट सुरु भएको थियो। पहिलो संविधानसभा निर्वाचनपछि उनी एमालेको समानुपातिक सूचीबाट सभासद बनेका थिए। प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेर नभई समानुपातिक प्रतिनिधित्वको माध्यमबाट उनको संसदीय यात्रा सुरु भएको थियो।

    पञ्चायतकालमा तत्कालीन राजपरिवारका सदस्य तथा सूर्यबहादुर थापासँग निकट सम्बन्ध रहेको बताइने चौधरी २०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेसँग नजिकिएका थिए। पछि उनी नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरे।

    २०७४ सालमा कांग्रेससँग जोडिएका चौधरीले पार्टीको १४औँ महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य पदमा सफलता हासिल गरेका थिए। उक्त निर्वाचनमा उनले २ हजार २०६ मत प्राप्त गरेका थिए। यसरी एमालेमा समानुपातिक सांसद बनेर सुरु भएको उनको राजनीतिक यात्रा कांग्रेसमा पनि समावेशी प्रतिनिधित्वकै बाटोबाट केन्द्रीय नेतृत्वसम्म अघि बढ्यो।

    प्रत्यक्ष निर्वाचनमा सफलता र पराजय

    २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चौधरी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेर निर्वाचित भएका थिए। त्यसअघि समानुपातिक प्रतिनिधित्वबाट संसदीय राजनीतिमा प्रवेश गरेका उनले प्रत्यक्ष निर्वाचनबाट पनि जनप्रतिनिधिका रूपमा सफलता हासिल गरेका थिए।

    तर, त्यसपछिको प्रतिनिधिसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालसँग पराजित भए। प्रत्यक्ष निर्वाचनमा पराजित भए पनि कांग्रेसभित्र उनको राजनीतिक यात्रा भने जारी रह्यो।

    देउवा समूहबाट गगन थापा समूहसम्म

    कांग्रेसको आन्तरिक राजनीतिमा चौधरी सुरुमा शेरबहादुर देउवा समूहसँग निकट थिए। पछिल्लो राजनीतिक घटनाक्रमसँगै उनी गगन थापा नेतृत्वको समूहमा पुगे। गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनमा सहभागी भएका चौधरी त्यसपछि पार्टीको नयाँ नेतृत्व संरचनामा थप प्रभावशाली भूमिकामा देखिएका छन्।

    १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित हुनुलाई उनको पार्टीभित्रको राजनीतिक उचाइका रूपमा हेरिएको छ। प्रत्यक्ष निर्वाचनमा पराजय भोगेपछि पनि पार्टीको आन्तरिक निर्वाचनमार्फत शीर्ष पदमा पुग्नु उनको राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण मोड बनेको छ।

    उपसभापतिमा चौधरीले पाए १ हजार ७४५ मत

    कांग्रेसको समावेशी उपसभापति पदमा चौधरीले १ हजार ७४५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका थिए।

    त्यस्तै, खुला उपसभापति पदमा चन्द्र भण्डारी ३ हजार ७३५ मतसहित विजयी भए भने मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरे। महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

    कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ।

    उद्योगीको पहिचानबाट पार्टीको शीर्ष नेतृत्वसम्म

    विनोद चौधरीको राजनीतिक यात्राले नेपाली राजनीतिमा व्यावसायिक पृष्ठभूमिबाट आएका व्यक्तिको नेतृत्वसम्मको पहुँचलाई देखाउँछ। एमालेबाट समानुपातिक सांसद बनेर सुरु भएको उनको यात्रा कांग्रेसको केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म पुगेको छ।

    विभिन्न चरणमा समावेशी कोटाबाट पार्टीको नेतृत्व तहमा पुगेका चौधरीको पछिल्लो सफलता उनको व्यावसायिक पहिचानसँगै राजनीतिक भूमिकाका कारण पनि चर्चामा छ। उद्योग–व्यवसायमा स्थापित पहिचान बनाएका चौधरीले अब कांग्रेसको उपसभापतिका रूपमा पार्टी संगठन, नीतिगत बहस र नेतृत्वको जिम्मेवारी कसरी निर्वाह गर्छन् भन्ने विषय चासोको केन्द्रमा रहनेछ।

    प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - ११:१०:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको