२६ असोज काठमाडौँ । चट्याङ लागेर एक हल गोरू गुमाएका गोरखाको सिरानचोक गाउँपालिका–४, छोप्राकका किसान टीका नेपालीको घरमा फेरि खुसी फर्किएको छ। खेतीपाती गरेर परिवार पाल्दै आएका नेपालीलाई चट्याङले गोरू मारेपछि परेको समस्यामा गाउँपालिका, समाजसेवी र स्थानीयवासीले सहयोग गरेका हुन्।
गत बुधबार परेको चट्याङले नेपालीको गोठमा बाँधिएका एक हल गोरू मरेका थिए। खेतीपातीका लागि गोरू नै नभएपछि उनलाई खेतबारी जोत्न र कृषि कार्य अघि बढाउन समस्या परेको थियो। जीविकोपार्जनको मुख्य आधार खेतीकिसानी भएका नेपालीलाई परेको समस्याबारे जानकारी पाएपछि स्थानीयस्तरमा सहयोग जुटाउन पहल गरिएको थियो।
सिरानचोक गाउँपालिका र स्थानीय समाजसेवी डा। विष्णु गोतामेको पहलमा आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरिएको थियो। अभियानबाट कुल ७७ हजार ७ रुपैयाँ सङ्कलन भएको गोतामेले जानकारी दिएका छन्। उक्त रकमबाट नयाँ एक हल गोरू खरिद गरी किसान नेपालीलाई हस्तान्तरण गरिएको हो।गोरू हस्तान्तरण कार्यक्रममा सिरानचोक गाउँपालिका–४ का वडाध्यक्ष भरत हमाल उपस्थित थिए। किसानको गोठमा पुनः गोरू ल्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै वडाध्यक्ष हमालले दुःखमा परेका किसानलाई साथ दिनु सराहनीय कार्य भएको बताए।
त्यसैगरी, वडासदस्य परशुराम पोखरेलले पनि किसानको समस्यामा सहयोग पुर्याउने गाउँपालिका, समाजसेवी तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेका छन्।समाजसेवी डा। गोतामेले आर्थिक सहयोग गर्ने, गोरू खरिद गर्न सघाउने तथा आवश्यक मुचुल्का तयार गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले यस्ता प्राकृतिक विपद्बाट किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था अन्त्य गर्न पशुपालन गर्ने किसानका गोरू तथा अन्य पशुको बिमा गराउने व्यवस्था गर्न गाउँपालिकालाई आग्रहसमेत गरेका छन्।
गोरू खरिदका लागि सिरानचोक गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट २५ हजार रुपैयाँ सहयोग गरेको थियो। गाउँपालिकाको सहयोगसँगै अन्य सहयोगीहरूको योगदानबाट नयाँ एक हल गोरू खरिद गरी नेपालीलाई उपलब्ध गराउन सम्भव भएको हो।चट्याङले गोठमा बाँधिएका गोरू गुमेपछि खेतीपाती कसरी गर्ने भन्ने चिन्तामा परेका नेपालीका लागि नयाँ गोरू प्राप्त हुनु ठूलो राहत बनेको छ। विपत्तिमा परेका बेला गाउँपालिका, समाजसेवी र स्थानीयवासीले देखाएको सहयोगले उनको कृषि कर्मलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ।
आर्थिक क्षतिका कारण समस्यामा परेका किसानलाई सामूहिक प्रयासबाट सहयोग गर्न सकिने उदाहरण बनेको यस घटनाले गाउँघरमा आपसी सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको महत्त्वसमेत उजागर गरेको छ।