१५ असार काठमाडौ । नारायणगढ-मुग्लिन सडक बिहीबार मध्याह्नबाट अवरुद्ध भएको हो । सडक थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ। इच्छाकामना गाउँपालिका-५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन्। पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ।
सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो। सडक सञ्चालनमा आए पनि सवारीसाधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।सो सडक यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका छन्। उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन्।