१८ असार काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। असार २१ गतेसम्ममा प्रकाशन गर्ने तयारी गरेको छ।उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्ड अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। हतारमा नतिजा प्रकाशित गर्दा धेरै त्रुटि हुने सम्भावना भएकाले सकेसम्म त्रुटि नहुने गरी नतिजा प्रकाशन गरिने उनको भनाइ छ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाफल असार तेस्रो साताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए।
लेटर ग्रेडिङ निर्देशिका, २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुङ्गो लागेको छैन। निजी विद्यालयको संस्था एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा टुङ्गो नलाग्दा अन्योल भएको बताए। बोर्डले गतवर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरे पनि नतिजा भने २०७२ को पद्धति अनुसार नै गरेको थियो।
पुरानो पाठ्यक्रमबाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका ९२०७२० अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने हाम्रो माग छ”, अध्यक्ष खड्काले भने, “नयाँ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशित भए अनुत्तीर्ण हुने विद्यार्थीको भविष्य अन्योलमा पर्छ।२०७२ सालमा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था थियो। २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित भए ९० देखि १०० ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’ ग्रेड दिने व्यवस्था छ। त्यस्तै, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गर्ने व्यवस्था छ। नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ।
दुई विषयसम्म नन ग्रेडिङमा परे तत्कालै ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने, त्यसभन्दा धेरै विषयमा नन ग्रेडिङमा परे अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ। यसअघि दुईभन्दा धेरै विषयमा ननग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो।एसइईको नतिजा कुन पद्धतिमा गर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सोमबार बस्दैछ।