Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कमलसिंह ऐरीको घातक बलिङमा चितवनको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित

कमलसिंह ऐरीको घातक बलिङमा चितवनको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित

जोईन खबर

११, कार्तिक २०८३
  • 172
    SHARES
  • कमलसिंह ऐरीको घातक बलिङमा चितवनको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित

    १० कार्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्समाथि आठ रनको रोमाञ्चक जित निकालेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएपछि चितवनले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

    images

    विराटनगरलाई जितबाट रोक्न चितवनका बलर कमलसिंह ऐरी घातक बने। उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले समान एक–एक विकेट लिए।

    images
    images
    images

    एक समय जितको नजिक देखिएको विराटनगरलाई १८औँ ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिँदै ठूलो झट्का दिए। जितका लागि विराटनगरलाई १८ बलमा २१ रन आवश्यक रहेको अवस्थामा कमलले रुपेश सिंह र प्रतिश जिसीलाई लगातार आउट गरे। दुवै खेलाडीले खाता खोल्न सकेनन्।

    त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जित्ने सम्भावना कमजोर बन्यो। चितवनका बलरले दबाबपूर्ण अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए।

    रसेलको आक्रामक ब्याटिङ खेर गयो

    विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए। उनले १७ बलमा एक चौका र चार छक्काको मद्दतमा ३३ रन बनाए। रसेलले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युजले १४ रन बनाए। तर, यी दुईको साझेदारीले विराटनगरलाई जित दिलाउन सकेन।विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले लोकेश बमसँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। लोकेशले १४ बलमा २६ रन बनाएर आउट भए।

    त्यसैगरी चरिथ असलंका आठ, बसिर अहमद १३ र शुभम रञ्जाने १० रनमा आउट भए। विराटनगरका कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन्। लक्ष्यको नजिक पुगेर पनि लगातार विकेट गुमाउँदा विराटनगरले खेल आफ्नो पक्षमा पार्न सकेन।

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।चितवनका ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए। एनपीएलको तेस्रो संस्करणको पहिलो अर्धशतक प्रहार गरेका मलानले टोलीलाई बलियो आधार दिएका थिए।

    मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरे। देव १५ बलमा १२ रन बनाएर आउट भए। विराटनगरका चरिथ असलंकाले पहिलो विकेट लिएका थिए।त्यसपछि विकेटकिपर ब्याटर अर्जुन साउद नौ बलमा तीन रन बनाएर पभेलियन फर्किए। उनलाई ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले विराटनगरका कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराएका थिए।

    १३औँ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले मलानलाई आउट गरेपछि चितवनको इनिङ्सलाई कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले। यी दुईले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे।रवि बोपारा ३२ रनमा र डान मोस्ली २९ रनमा अविजित रहे। उनीहरूको साझेदारीले चितवनलाई १५७ रनको प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍यायो।

    कमलसिंहको बलिङ निर्णायक

    १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले केही समय राम्रो प्रदर्शन गरे पनि अन्तिम ओभरहरूमा लगातार विकेट गुमायो। विशेषगरी १८औँ ओभरमा कमलसिंह ऐरीले लिएका लगातार दुई विकेट खेलको निर्णायक मोड बने।

    त्यसपछि रिजन ढकालले १९औँ ओभरमा थप दुई विकेट लिएपछि चितवनले खेलमा आफ्नो पकड बलियो बनायो। अन्ततः विराटनगर १४९ रनमा समेटिएपछि चितवनले आठ रनको जित दर्ता गर्‍यो।डाविड मलानको अर्धशतक र कमलसिंह ऐरीको उत्कृष्ट बलिङ चितवनको जितका मुख्य आधार बने।

    प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - १६:२६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको