Logo

मंगलवार, कार्तिक ११ गते २०८३

तिहारमा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान, ६४ करोड ५० लाखको कारोबार हुने

तिहारमा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान, ६४ करोड ५० लाखको कारोबार हुने

जोईन खबर

११, कार्तिक २०८३
  • 217
    SHARES
  • तिहारमा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान, ६४ करोड ५० लाखको कारोबार हुने

    १० कार्तिक काठमाडौं । यस वर्षको तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न प्रकारका फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार तिहारको पाँच दिनमा फूलका मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ।

    images

    मालासँगै घर, आँगन तथा कार्यालय सजाउन प्रयोग हुने फूलका थुँगा र गमलासमेत जोड्दा यस वर्ष तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    images
    images
    images

    फ्यानले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष सबैभन्दा धेरै सयपत्री फूलका माला खपत हुनेछन्। कुल ५१ लाख ८० हजार मालामध्ये ४५ लाख सयपत्री, ६ लाख मखमली, २० हजार गोदावरी र ६० हजार विभिन्न फूल मिसाएर बनाइएका माला खपत हुने अनुमान छ।

    सयपत्री मालाबाट मात्रै ४० करोड ५० लाखको कारोबार

    यस वर्ष ४५ लाख सयपत्री फूलका माला खपत हुने अनुमान गरिएको छ। प्रतिमाला औसत ९० रुपैयाँ थोक मूल्यका आधारमा सयपत्री मालाबाट मात्रै ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने फ्यानले जनाएको छ।

    त्यस्तै, प्रतिमाला औसत ४५ रुपैयाँका दरले ६ लाख मखमली मालाबाट दुई करोड ७० लाख रुपैयाँको कारोबार हुने अनुमान छ। गोदावरी फूलका २० हजार माला प्रतिगोटा औसत एक हजार २०० रुपैयाँका दरले बिक्री हुँदा दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुनेछ।

    विभिन्न फूल मिसाएर बनाइएका ६० हजार मालाको औसत मूल्य प्रतिमाला ४०० रुपैयाँ निर्धारण गरिएको छ। यसबाट दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

    मालाबाहेक ३५ लाख सयपत्री फूलका थुँगा प्रतिथुँगा ३० रुपैयाँका दरले बिक्री हुँदा १० करोड ५० लाख रुपैयाँको कारोबार हुनेछ। त्यस्तै, आठ लाख गोदावरी फूलका गमला प्रतिगमला ७५ रुपैयाँका दरले बिक्री हुँदा थप छ करोड रुपैयाँ बराबरको कारोबार हुने फ्यानले जनाएको छ।

    सातै प्रदेशमा विस्तारियो व्यावसायिक फूलखेती

    पछिल्ला वर्षहरूमा नेपालमा सयपत्री फूलको व्यावसायिक उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ। फ्यानका अनुसार हाल सातै प्रदेशका विभिन्न जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ।

    काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिरहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीलगायत जिल्लामा सयपत्री फूलको व्यावसायिक उत्पादन भइरहेको छ।

    फूलखेतीको क्षेत्रफल र बजार विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि गर्नुका साथै आयात प्रतिस्थापनमा समेत योगदान पुर्‍याउँदै आएको छ।

    मखमली फूलमा आत्मनिर्भर, दुई लाख माला विदेश निर्यात हुने

    फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार नेपाल मखमली फूलको उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर बनेको छ। यस वर्ष मखमली फूलका छ लाख मालाको माग रहेकोमा चार लाख माला आन्तरिक बजारमा खपत हुने र करिब दुई लाख माला विदेश निर्यात हुने अनुमान गरिएको छ।

    काठमाडौंको इचङ्गुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी–बडिखेललगायत धादिङ, पाल्पा, कैलाली र इलाममा मखमली फूलको व्यावसायिक खेती हुँदै आएको छ। मखमली फूलको उत्पादनले आन्तरिक माग धान्नुका साथै निर्यातको सम्भावनासमेत बढाएको फ्यानले जनाएको छ।

    बाढीपहिरोका कारण सयपत्री उत्पादनमा क्षति, ११ प्रतिशत माला आयात गर्नुपर्ने

    गत वर्ष तिहारमा ४० लाख सयपत्री फूलका माला खपत भएकोमा यस वर्ष माग बढेर ४५ लाख पुगेको छ। तर, गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण सयपत्री फूलखेतीमा क्षति पुगेको फ्यानले जनाएको छ।

    एसोसिएसनका अनुसार आन्तरिक उत्पादनबाट करिब ४० लाख सयपत्री माला आपूर्ति हुने अनुमान छ। बाँकी करिब पाँच लाख माला अर्थात् कुल मागको करिब ११।११ प्रतिशत आयात गरेर माग व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ।

    फ्यानले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन उपभोक्ता तथा व्यापारीलाई आग्रह गरेको छ। उत्पादन क्षेत्रबाट बजारसम्म फूलको सहज ढुवानी र उचित मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि एसोसिएसनले जनाएको छ।

    स्वदेशी फूल प्रयोग गर्न फ्यानको आग्रह

    फ्यानका अध्यक्ष श्रेष्ठले तिहारमा स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका छन्। स्वदेशी फूलको प्रयोगले नेपाली कृषक तथा पुष्प व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्नुका साथै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ छ।

    ‘तिहारमा स्वदेशी फूल प्रयोगलाई प्राथमिकता दिनु भनेको नेपाली कृषक र पुष्प व्यवसायीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुका साथै स्वदेशी उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्रोत्साहन गर्नु हो,’ अध्यक्ष श्रेष्ठले भने।

    उनले फूलका उपभोक्ता, व्यापारी तथा सम्बन्धित सरोकारवाला निकायबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।तिहारमा फूलको माग बढ्दै जाँदा नेपालमा व्यावसायिक पुष्पखेतीको विस्तार र बजारको सम्भावना पनि बढ्दै गएको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन, सहज ढुवानी र बजार व्यवस्थापनमा ध्यान दिन सके पुष्प व्यवसायले कृषकको आयआर्जन बढाउन थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - १६:१३:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको