१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले युएईसँग खेलिरहेको छ । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ । यहाँको कन्डिसन अनुसार सुरुको ४–५ ओभरमा महत्वपूर्ण हुन्छ । त्यसको फाइदा उठाउनुपर्छ । कन्डिसन बुझेको भए टस जितेर पहिले बलिङ गर्थे होला । तर उनीहरुले ब्याटिङ रोजेका छन् । त्यसले उनीहरु प्रेसरमा छन् भनेर देखाउँछ । एडभान्टेज चाहिँ पहिले बलिङ गर्ने टिमलाई नै हुन्छ । त्यसलाई नेपालले सदुपयोग गर्नुपर्छ ।
ओपनिङ ५ ओभरको स्पेल हाम्रो बलिङको भाइटल हुन्छ । विशेष गरी मोहम्मद वासिमको विकेट भाइटल हुन्छ । मिडल अर्डमा बसिल हमिदको विकेट पनि महत्वपूर्ण । दुवै खेलाडी अहिले लयमा छन् । आज दीपेन्द्र नेपालको टिममा फर्किएका छन् । दीपेन्द्र भनेको अहिलेको अवस्थामा सबैभन्दा राम्रो खेलाडी हो । उसलाई राम्रोसँग व्यवस्थापन गरेर खेलाइराछ । यसअघि पनि युएई विरुद्ध उनले राम्रो खेलेका थिए । त्रिकोणात्मक शृखंलाको सबै खेलमा दीपेन्द्रले राम्रो प्रदर्शन गरेका थिए । दीपेन्द्र आउँदा टिमको मनोबल पनि बढ्छ । फिल्डमा एक जना खेलाडीलाई व्यवस्थापन गर्न खासै गाह्रो हुँदैन । दीपेन्द्रले एक खुट्टैले समेत राम्रो फिल्डिङ गर्न सक्छन् ।