१० पुष ताकुकोट । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोट र वडा नं ८ पन्द्रुङ आउनुहुने भएकोछ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ को वडापार्टीको वैठकमा सहभागी हुन उहाँ गोरखा आउन लाग्नु भएको पार्टीका गोरखा जिल्ला इन्चार्ज दीपक कोइरालाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले अभियान अन्र्तगत देशभरका सातवटै प्रदेशको एउटा/एउटा वडामा पुग्ने कार्यक्रम अन्तरगत उहाँ गण्डकी प्रदेशमा रहेको बारपाक सुलिकोट गाउँपालिकामा बनेका प्रथम शहीद दिलबहादुर रम्तेलको वडा बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङमा वडा पार्टीको बैठकमा सहभागी हुन लाग्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले सोही दिनै माथिल्लो जराङडाँडामा बन्दै गरेको जनयुद्धका प्रथम सहित दिलबहादुर रम्तेलको स्मृति पार्कको अवलोकन समेत गर्ने कार्यक्रम रहेको बारपाक सुलिकोट गाउँपालिका जननिर्वाचित अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। पार्कको अवलोकनपछि गाउँपालिका कार्यालयको सभाहलमा पालिका भित्रका सम्पूर्ण जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष भट्टले बताउनु भयो ।
ताकुकोटमै पार्टीका जिल्ला स्थित अगुवा नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । बारपाक सुलिकोटको उक्त कार्यक्रम सकिए पछि प्रधानमन्त्री प्रचण्ड तेही दिन गण्डकी गाउँपालिकामा पुगेर गाउँपालिकाका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया र स्थानीय जनतालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ ।
स्थानिय जनताले भने निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलो गर्नु भएको बाचाहरुको स्मरण गराउने तयारी गरेको छ । बारपाक सुलिकोटको सडकहरुमा अझै पनी प्रयाप्त बजेट नभएको र ठेकेदारको लापरवाहीले ठेक्का लागेको सडक पनि अधुरोनै रहेको छ ।