२५ जेठ काठमाडोँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ चुम्लिङमा सिद्ध गणेश आधारभूत विद्यालयमा छात्रावास भवन निर्माण हुने भएको छ । अहिले बन्न लागेको छात्रावास भवनमा एकसय जना सम्म बस्न मिल्ने भवन निर्माणका लागी वडाध्यक्ष सरोज लामाले बताए ।
आगामी आर्थिक वर्ष २०८१/०८२ मा कार्यान्वयन गर्नेगरी राष्ट्रिय योजना आयोगबाट तीन वर्षे क्रमागत बजेट विनियोज गरि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको जनाकारी दिए । सिद्ध गणेश आधारभूत विद्यालयमा हाल २० जना बस्न मिल्ने छात्रावास भवन सँगै पाँचसम्म कक्षा सञ्चालन समेत रहेको छ ।
विद्यालयसँगै छात्रावास पनि आवश्यकता रहेकाले छात्रावास भवन निर्माण गर्नका लागि पहल गरिएको उनको भनाइ छ ।बालबालिकाहरु पढ्नकै लागि भनेर सानै उमेर सहर जाने प्रवृत्तिले मातृभाषा, मौलिक संस्कृति बिर्सने, समस्या बढ्दै गएकाले बालबालिकालाई गाउँमै पढाउनु पर्छ भन्ने मान्यता विकास भएको उनले बताए ।
वडाको आफ्नै जग्गामा अहिले स्कुल रहको स्थान भन्दा करिब एक सय मिटर पर छात्रावास निर्माण गर्न लागिएको हो । यस छात्रावास निमार्णको लागि पाँच करोडको डिपिआर तयार गरिएको छ । सो बजेट तीन वर्षे क्रमागत हो । उक्त बजेटमा दुई वटा भवन निर्माण हुने छ ।
एउटा छात्रावासका लागि र अर्को विद्यालयलाई मावि तहमा विस्तार गर्दै लैजाँदा कक्षा संयोजनका लागी प्रयोजन हुने गरी भवन निर्माण गर्न लागिएको हो । आगामि वर्षको गाउँसभाको निर्णय आएसँगै छात्रावास निर्माणको काम सुरु गरिने उनले बताए ।