१३ कार्तिक गोरखा । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने मोटरेबल पक्की पुल निर्माण कार्य सुरु भएको छ।
करिब १५२ मिटर लामो उक्त पुलको निर्माण कार्य कार्तिक १२ गते बिहीबार विधिवत् पूजाआजा गरी शुभारम्भ गरिएको हो।गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’, गोरखा सडक आयोजना तथा निर्माण कम्पनी जलप कन्स्ट्रक्सनका प्रतिनिधिहरूको उपस्थितिमा पुल निर्माण कार्य थालनी गरिएको हो।
गोरखा र चितवन जिल्लालाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको यस पुल निर्माणले दुई जिल्लाबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज हुनुका साथै कृषि उपज तथा अन्य वस्तुको ढुवानीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। यसले स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधि विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लामो समयदेखि यातायात तथा आवागमनमा भोग्दै आएका समस्यालाई कम गर्न पुल निर्माणले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको अपेक्षा छ।बुट्टार–चुमखोला मोटरेबल पुल निर्माण सम्पन्न भएपछि गोरखा र चितवनबीचको सडक सम्पर्क थप मजबुत हुने र दुवै जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।