१३ कार्तिक गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा आगलागी हुँदा एक स्थानीयको दुई तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार साँझ करिब ७ः३० बजे चुमनुब्री गाउँपालिका–३ फिलिम निवासी ४० वर्षीय धनबहादुर गुरुङको घरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ब्लकले बनेको र टिनले छाएको दुई तले चार कोठे घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आगलागीबाट घरमा ठूलो भौतिक क्षति पुगे पनि मानवीय तथा पशुचौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास, गोरखाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा साँझ करिब ८ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएपछि गुरुङ परिवारलाई ठूलो भौतिक क्षति पुगेको छ। आगलागी के कारणले भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै, आगलागीबाट भएको क्षतिको थप विवरण संकलन गर्ने कार्यसमेत भइरहेको प्रहरीले जानकारी दिएको छ।
