२२ पुस काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं–६ भञ्ज्याङ्ग टोलस्थित खवास गाउँमा वडागत बजेटको सहयोगमा निर्माण गरिएको पैदल बाटो सम्पन्न भएको छ।
स्थानीयवासीको लामो समयदेखिको मागलाई मध्यनजर गर्दै वडा कार्यालयको पहलमा उक्त पैदल बाटो निर्माण गरिएको गाउपालिका प्रवक्ता जित बहादुर नेपालीले बताउनु भयो । बाटो निर्माणपछि खवास गाउँका बासिन्दालाई आवतजावतमा सहजता भएको छ भने दैनिक कामकाज, विद्यार्थीहरूको विद्यालय आवागमन तथा स्थानीय उत्पादनको ढुवानीमा समेत सहयोग पुगेको स्थानीयले बताएका छन्।
वडा कार्यालयका अनुसार वडागत बजेटबाट विनियोजित रकमलाई प्रभावकारी रूपमा प्रयोग गर्दै गुणस्तरीय निर्माणमा जोड दिइएको छ। आगामी दिनमा पनि आवश्यकता अनुसार अन्य भित्री सडक तथा पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइने वडा कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाको आवतजावत सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त पैदल बाटोको अनुगमनमा वडा प्रतिनिधि सावित्रि श्रेष्ठ,गाउँपालिका कार्यपालिका सदस्य तथा प्रवक्ता जित बहादुर नेपाली र प्राविधिक कर्मचारी तथा स्थानीय उपभोक्ताको उपस्थितिमा भइ अनुगमन गरिएकाे थियाे । पैदल बाटो निर्माणले गाउँको समग्र विकासमा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।


