४ माघ काठमाडौँ । नेकपा (एमाले) भित्र आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको टिकट वितरणले ठूलो असन्तुष्टि चर्किएको छ। पार्टीभित्र जितेका तथा लोकप्रिय नेताहरूलाई बाइपास गर्दै विगतमा थोरै मत प्राप्त गरेका व्यक्तिहरूलाई टिकट दिइएको आरोप लाग्न थालेपछि आन्तरिक विवाद गहिरिँदै गएको हो।
टिकट वितरण प्रक्रियामा अध्यक्ष केपी शर्मा ओलीको निर्णय हावी भएको भन्दै असन्तुष्ट नेताहरूले सार्वजनिक तथा आन्तरिक रूपमा आलोचना गर्न थालेका छन्। उनीहरूका अनुसार स्थानीय तहदेखि केन्द्रसम्म जनाधार बलियो रहेका र चुनाव जित्न सक्ने उम्मेदवारहरूलाई पाखा लगाएर सीमित व्यक्तिलाई प्राथमिकता दिँदा पार्टीको सांगठनिक आधार कमजोर बन्ने खतरा बढेको छ।
पार्टीभित्र बढ्दो असन्तुष्टिले आन्तरिक एकता कमजोर हुँदै गएको विश्लेषकहरू बताउँछन्। चुनावको मुखमा देखिएको यो असन्तुलनले कार्यकर्ताको मनोबल घट्ने र त्यसको प्रत्यक्ष असर चुनावी नतिजामा पर्न सक्ने चिन्ता समेत व्यक्त भइरहेको छ।
यद्यपि एमाले नेतृत्व भने टिकट वितरण मापदण्डअनुसार नै गरिएको दाबी गर्दै आएको छ। तर असन्तुष्ट पक्षले निर्णय सच्याउन दबाब नदिने हो भने पार्टीलाई नै दीर्घकालीन क्षति पुग्ने चेतावनी दिएका छन्।एमालेभित्रको यो विवाद समयमै समाधान नहुने हो भने आगामी निर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न कठिन हुन सक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।