८ माघ काठमाडौं । १ हजार २ सय मेगावाट क्षमताको बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन आवश्यक वित्तीय तथा लगानी मोडालिटी मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको पहलमा लामो समयदेखि रोकिएको आयोजनाले पुनः गति लिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रस्ताव गरेको वित्तीय मोडालिटीमा अर्थ मन्त्रालयले सहमति जनाएपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गरेको हो। यस निर्णयसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी आयोजना कार्यान्वयनको दिशामा प्रवेश गरेको छ।
यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा आयोजना सम्बन्धी मोडालिटी रोकिएको थियो। वर्तमान अर्थमन्त्री खनालले आयोजनाप्रति चासो देखाउँदै आवश्यक सहमति प्रदान गरेपछि प्रक्रिया अगाडि बढेको हो।
लामो समयदेखि अन्योलमा रहेको यो आयोजना स्वीकृतिसँगै ऊर्जा उत्पादन, लगानी वातावरण सुधार तथा दीर्घकालीन राष्ट्रिय हितका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।