९ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजुनाथ पाण्डेले पार्टीले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेपछि सुशासन कायम गर्न विभिन्न शक्ति केन्द्रसँग कडा संघर्ष गर्नुपर्ने स्पष्ट योजना आफूहरूसँग रहेको बताएका छन्।
एक कार्यक्रममा सम्बोधन गर्दै नेता पाण्डेले राज्यका संरचनाभित्र गहिरो रूपमा जरा गाडेर बसेका भ्रष्टाचार, राजनीतिक संरक्षण र बेथितिविरुद्ध रास्वपा नझुक्ने दाबी गरे। “सुशासन भाषणले होइन, ठोक्किएर स्थापना हुन्छ,” उनले भने, “कहाँ–कहाँ ठोक्नु पर्नेछ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।”
पाण्डेले दशकौँदेखि देशको शासन प्रणालीलाई नियन्त्रणमा राख्दै आएका पुराना राजनीतिक अभ्यास, कर्मचारीतन्त्रभित्रको जालो, ठेकेदार–दलाल समूह र राजनीतिक संरक्षण पाएका माफियाविरुद्ध निर्णायक कदम चालिने बताए। उनका अनुसार यिनै संरचनाले जनताका अधिकार कुण्ठित गर्दै आएको छ।
“हामी सत्तामा जानका लागि मात्रै होइन, व्यवस्था सुधार्न जान खोजिरहेका छौँ,” पाण्डेले थपे, “त्यसैले स्वार्थ समूहहरू असहज हुनेछन्, दबाब आउनेछ, तर रास्वपा पछि हट्दैन।”
उनले रास्वपाको प्राथमिकता पारदर्शी शासन, जवाफदेही नेतृत्व र नागरिकमैत्री प्रशासन निर्माण गर्नु रहेको उल्लेख गर्दै, सुशासनका लागि कानुनभन्दा माथि कोही नहुने स्पष्ट सन्देश दिए।
नेता पाण्डेले आम नागरिकलाई परिवर्तनको यात्रामा साथ दिन आग्रह गर्दै भने, “बहुमत आएपछि चुनौती ठूलो हुन्छ, तर जनताको बलियो समर्थन भयो भने कुनै शक्ति टिक्न सक्दैन।”
उनको यो अभिव्यक्तिलाई रास्वपाको आक्रामक राजनीतिक रणनीतिको संकेतका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार पाण्डेको भनाइले पार्टीको ‘सिस्टमसँग ठोक्किने’ छवि थप बलियो बनाएको छ।