९ माघ काठमाडौँ । गुल्मीबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका सागर ढकाल सादगी र पारदर्शितामै चुनाव जितिन्छ भन्दै एक दिनको चुनावी अभियानको खर्च २,६२५ रुपैयाँको खानाबास बिल सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गुल्मीका उम्मेदवार सागर ढकालले चुनावी खर्चमा सादगी र पारदर्शिताको उदाहरण प्रस्तुत गर्दै एक दिनको २ हजार ६२५ रुपैयाँ बराबरको खानाबास बिल सार्वजनिक गरेका छन्।
ढकालले माछा–मासु, रक्सी र तेल बाँड्ने पुरानो चुनावी अभ्यास त्यागेर पनि जनताको समर्थन जित्न सकिने सन्देश दिएका छन्। उनका अनुसार चुनाव जित्न खर्च र लोभ होइन, नीति, इमानदारी र जनतासँगको प्रत्यक्ष संवाद आवश्यक हुन्छ।
“चुनाव पैसाले होइन, भरोसाले जितिन्छ,” ढकालले भने, “हामीले देखाउन खोजेको कुरा यही हो कि सादगी अपनाएर पनि चुनाव जित्न सकिन्छ।”
चुनावी प्रचारका क्रममा ढकालले समयपालनालाई कडाइका साथ लागू गरेको प्रसंग पनि सार्वजनिक गरेका छन्। एक कार्यक्रममा ढिलाइ गरेर पुगेका सह–उम्मेदवार गोविन्द पन्थीलाई उनले उठबस गराएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि चर्चा चुलिएको छ। ढकालका अनुसार यो दण्ड व्यक्तिगत नभई अभियानमा अनुशासन र जिम्मेवारी कायम गर्ने सन्देशका लागि गरिएको हो।
ढकालले गुल्मीमा रास्वपाको जनाधार तीव्र रूपमा बढिरहेको दाबी गर्दै पार्टीले जिल्लामा ‘क्लिन स्वीप’ गर्ने दाबीसमेत गरेका छन्। “गुल्मीका जनताले पुराना अभ्यासबाट वाक्क भइसकेका छन्,” उनले भने, “यसपटक परिवर्तनलाई मत दिने वातावरण बनेको छ।”
उनको सादगीपूर्ण चुनावी शैली र खर्च विवरण सार्वजनिक गर्ने कदमलाई राजनीतिक वृत्तमा सकारात्मक संकेतका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यसले नेपाली राजनीतिमा पारदर्शी र अनुशासित चुनावी संस्कृतिको बहसलाई थप बल दिएको छ।