११ माघ काठमाडौँ । गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरूङले सम्पर्क सचिवालय उद्घाटन गरेका छन्। स्थानीय तहका मतदाता, शुभेच्छुक तथा पार्टी कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्न सहज होस् भन्ने उद्देश्यले सचिवालय स्थापना गरिएको उनले बताएका छन्।
सम्पर्क सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरूङले गोरखा–१ का जनताले भोग्दै आएका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझेर समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे। पुरानै शैलीको राजनीतिले जनताको विश्वास गुमाएको उल्लेख गर्दै उनले पारदर्शी, जवाफदेही र जनमुखी अभ्यासमार्फत नयाँ राजनीतिक संस्कार स्थापना गर्न रास्वपा प्रतिबद्ध रहेको बताए।
उनले विशेष गरी युवाहरूको सक्रिय सहभागिता बिना परिवर्तन सम्भव नहुने धारणा राख्दै युवालाई नेतृत्व, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराइने स्पष्ट पारे। “अब राजनीति भाषणमा सीमित नभई काम र परिणाममा आधारित हुनुपर्छ,” उनले भने।
सम्पर्क सचिवालयमार्फत दैनिक रूपमा नागरिक भेटघाट, जनगुनासो संकलन, सुझाव आदान–प्रदान तथा चुनावी अभियानसम्बन्धी गतिविधि सञ्चालन गरिने जनाइएको छ। सचिवालयले गोरखा–१ का मतदातालाई आफ्ना समस्या र धारणा सहज रूपमा राख्ने थलोको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।