११ माघ काठमाडौँ । गण्डकी प्रदेश सरकारले गोरखा अस्पताल र आँपपिपल अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ व्यवस्थापन समिति गठन गरेको छ। गोरखा अस्पताल सञ्चालन व्यवस्थापन समितिको अध्यक्षमा कृष्ण ढकाल नियुक्त भएका छन्। अध्यक्ष ढकालले यसअघि लामो समयसम्म गोरखा अस्पतालमै विभिन्न जिम्मेवारीमा रही सेवा प्रदान गर्दै आएका थिए। अस्पतालको सेवा सुधार, व्यवस्थापन सुदृढीकरण र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा उहाँको अनुभव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
समितिका सदस्यहरूमा विद्या मास्के र सानुकाजी वन्त नियुक्त भएका छन्।यसैगरी, आँपपिपल अस्पताल सञ्चालन व्यवस्थापन समितिको अध्यक्षमा पार्वतीदेवी पाठक नियुक्त भएकी छन्। समितिका सदस्यहरूमा प्रमिला राना मगर र रवीन्द्र देवकोटा नियुक्त भएका छन्।
नयाँ नेतृत्वसँगै आँपपिपल अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास र व्यवस्थापन सुधारमा सकारात्मक परिवर्तन आउने विश्वास लिइएको छ।प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले राजनीतिक नियुक्तिको आधारमा अस्पताल व्यवस्थापन समिति गठन गरेको जनाएको छ। नयाँ समितिले अस्पतालको समग्र सेवा गुणस्तर सुधार, कर्मचारी व्यवस्थापन तथा बिरामीमैत्री वातावरण निर्माणमा ध्यान दिने अपेक्षा गरिएको छ।