१३ माघ काठमाडौं । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको बेला नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट गोरखा क्षेत्र २ का उम्मेदवार लेखनाथ न्यौपानेले आर्थिक अभावकै बीच इमान्दारितापूर्वक चुनावी अभियान चलाइरहेको बताएका छन्। जनतासँगको भेटघाटका क्रममा उनले ठूलो खर्च, तामझाम र पैसाको बलमा होइन, विश्वास र विचारका आधारमा चुनाव लडिरहेको स्पष्ट पारेका छन्।
न्यौपानेले भने, “मसँग पैसा छैन। मकै, भटमास र पानी खाएर चुनावी अभियान चलाई रहेको स्पष्ट पारे ।” उनको यो भनाइलाई स्थानीयले सरल जीवनशैली र संघर्षशील उम्मेदवारको रूपमा लिएका छन्।
घरदैलो अभियानमा सक्रिय रहेका न्यौपानेले महँगा गाडी, भीडभाड र देखावटी प्रचारभन्दा जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताए। “जनताको पीडा बुझेको छु। पैसा नभए पनि इमान र इच्छाशक्ति बलियो छ,” उनले भने।उनले निर्वाचनमा हुने अत्यधिक खर्च, लोभलालच र अवैध चलखेलले लोकतन्त्र कमजोर बनाएको टिप्पणी गरे। त्यसको विकल्पका रूपमा सादा, पारदर्शी र जनमुखी राजनीति आवश्यक रहेको उनको धारणा छ।
स्थानीय मतदातामध्ये धेरैले न्यौपानेको जीवनशैली र अभिव्यक्तिलाई ‘ईमानदार र वास्तविक’ भन्दै समर्थन जनाएका छन्। कतिपयले भने उनको साहस र संघर्षलाई नयाँ राजनीतिक संस्कृतिको उदाहरणका रूपमा लिएका छन्।लेखनाथ न्यौपानेको यो अभिव्यक्तिले पैसामुखी चुनावी अभ्यासमाथि प्रश्न उठाउँदै साधारण जीवनशैली र जनविश्वासको राजनीतिबारे बहसलाई बल दिएको छ।