५ साउन काठमाडौं । यही असार २९ गते कान्तिपुर मिडिया ग्रुप,तर विभिन्न राजनितिक दलका नेताको घर अगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमध्ये एक गाडी गृहमन्त्री सुधन गुरुङले केही दिनअघि चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रयोग गरेको तथ्य सार्वजनिक भएको छ।
बा प्रदेश–०१–०३४ च ८४८० नम्बरको कालो रङको जेको जे–६० गाडी महाधिवेशन अवधिभर गृहमन्त्री गुरुङको आवतजावत तथा सुरक्षा एस्कर्टमा प्रयोग भएको भिडियो फुटेजबाट पुष्टि भएको दाबी गरिएको छ। सोही गाडी असार २९ गते बिहान कान्तिपुर कार्यालयको मुख्य गेटअगाडि एक व्यक्तिले पार्क गरेर छाडेको दृश्य सीसीटीभीमा समेत कैद भएको थियो। प्रत्यक्षदर्शीका अनुसार मास्क र कालो चस्मा लगाएका ती व्यक्ति गाडी पार्क गरेलगत्तै त्यहाँबाट हिँडेका थिए।
उक्त दिन कान्तिपुरसँगै बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि शंकास्पद ढंगले गाडी पार्क गरिएका थिए। सञ्चारगृहहरूले प्रहरीलाई गाडी हटाउन आग्रह गरे पनि तत्काल पहल नभएपछि अन्ततः आफैंले क्रेन बोलाएर गाडी हटाउनुपरेको थियो। यस घटनाले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको छ।
सार्वजनिक गरेको विवरणअनुसार यही नम्बरको गाडी गृहमन्त्री गुरुङले असार १४ गते हेटौंडादेखि बाराको पथलैयासम्म पनि प्रयोग गरेका थिए। बाराका एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा उक्त गाडी गृहमन्त्रीको सुरक्षासँग सम्बन्धित रूपमा प्रयोग भएको पुष्टि गरेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले गृहमन्त्रीले उक्त गाडी प्रयोग गरेको स्वीकार गरेका छन्। उनका अनुसार महाधिवेशनका क्रममा सरकारी गाडी उपलब्ध नभएकाले रास्वपाका नेता रवि जयसवालको गाडी प्रयोग गरिएको थियो। उनले नाकामा छड्के निरीक्षणका क्रममा सरकारी गाडी चिन्न सकिने भएकाले वैकल्पिक गाडी प्रयोग गरिएको बताएका छन्।
गाडीका मालिक रवि जयसवाल रास्वपाका नेता हुन्। उनी गृहमन्त्री निकट मानिन्छन्। यद्यपि यस घटनाबारे उनको प्रतिक्रिया लिन गरिएको प्रयास सफल हुन सकेन।यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले नाम नखुलाउने सर्तमा सञ्चारमाध्यमअगाडि गाडी पार्क गर्ने कार्य गृह मन्त्रालयसँग सम्बद्ध व्यक्तिहरूको निर्देशनमा भएको हुन सक्ने दाबी गरेका छन्। यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।
घटनापछि रास्वपाभित्र पनि आलोचना भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै घटनालाई आपत्तिजनक बताएका छन् भने सभापति रवि लामिछानेले दोषी जोसुकै भए पनि कारबाही हुने बताएका छन्। पूर्वसहमहामन्त्री तथा सांसद मनिष झाले पनि सामाजिक सञ्जालमार्फत सरकार संरक्षित व्यक्तिहरूको संलग्नताको आशंका व्यक्त गरेका छन्।घटनाको निष्पक्ष छानबिन, सञ्चारमाध्यममाथि भएको भनिएको दबाबको सत्यतथ्य सार्वजनिक गर्ने तथा दोषीमाथि कानुनी कारबाही हुने वा नहुने विषय अहिले चासोका साथ हेरिएको छ।