२२ भदौ काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट ३५० जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ। गाउँपालिकाका अनुसार शिविर सञ्चालनबाट लाभग्राहीको करिब ४० लाख रुपैयाँ बराबरको खर्च जोगिएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३ र ०८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिकाको भत्ता नवीकरण गर्न काठमाडौंमा घुम्ती शिविर सञ्चालन गरेको हो।
काठमाडौंको बनस्थलीस्थित गोरखा ताकुकोट सेवा समाज–काठमाडौंको कार्यालयमा सञ्चालन गरिएको तीनदिने शिविरमा बारपाक सुलिकोट गाउँपालिकाका कर्मचारी र गोरखा ताकुकोट सेवा समाज काठमाडौँका कार्यसमिति सदस्य लगायतको सहयोगमा काठमाडौँमात्र ३२० जना लाभग्राहीले सेवा लिएको गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठले बताउनु भयो । यस्तै, काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका छिमेकी स्थानीय तह सिरानचोक, पालुङटार, शहीद लखन र भीमसेन थापा गाउँपालिकाका ३० जना लाभग्राहीले समेत शिविरबाट सेवा लिएका छन्।
शिविरको पहिलो दिन मात्रै १०९ जनाले सेवा लिएका थिए। गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली (जितबहादुर)का अनुसार बर्खायाममा बाढी तथा पहिरोका कारण गाउँ र सहर जोड्ने मुख्य राजमार्गमा आवतजावत कठिन बनेपछि लाभग्राहीको सहजताका लागि काठमाडौंमै पुगेर सेवा प्रदान गरिएको हो।
गाउँपालिकाले थोरै लगानीमा घुम्ती शिविर सञ्चालन गर्दा लाभग्राहीले गाउँमै पुगेर भत्ता नवीकरण गर्न लाग्ने यातायात, खाना तथा अन्य खर्च बचत गर्न सकेका छन्। गाउँपालिकाका अनुसार यसबाट समग्र लाभग्राहीको करिब ४० लाख रुपैयाँ खर्च जोगिएको छ।
लाभग्राहीहरूले गाउँपालिकाले आफू बसेकै ठाउँमा आएर सेवा दिँदा राज्यको सेवा घरदैलोमै पुगेको अनुभूति भएको बताएका छन्। गाउँमै पुगेर भत्ता नवीकरण गर्नुपर्दा आफूहरूलाई ५÷६ हजार रुपैयाँसम्म खर्च हुने गरेको, तर काठमाडौंमै शिविर सञ्चालन भएपछि उक्त रकम जोगिएको उनीहरूको भनाइ छ।
एक लाभग्राहीले भने, “हरेक वर्ष भत्ता नवीकरण गर्नुपर्छ। हामी बसेकै ठाउँमा आएर सेवा दिँदा निकै सहज भएको छ। हाम्रो समस्या र बाध्यता बुझेर सेवा दिन आउनुभएकोमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टसहित जनप्रतिनिधि र कर्मचारीप्रति सम्मान व्यक्त गर्न चाहन्छौँ।”
बारपाक सुलिकोट गाउँपालिकाले यसअघि आर्थिक वर्ष २०८२ मा पनि काठमाडौंमा यस्तै घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता नवीकरणको सेवा दिएको थियो।गाउँपालिकाका प्रवक्ता नेपालीका अनुसार काठमाडौंमा अस्थायी तथा रोजगारीका सिलसिलामा बसोबास गर्ने लाभग्राहीको संख्या उल्लेख्य रहेकाले आगामी दिनमा पनि यस्ता सेवा निरन्तरता दिने योजना छ।
उनका अनुसार गाउँपालिकाले चितवनमा पनि भदौ २७ र २८ गते घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको छ। गाउँबाट रोजगारी तथा अन्य कारणले काठमाडौं र चितवनमा अस्थायी बसोबास गर्ने नागरिकलाई लक्षित गरी स्थानीय सरकारको सेवा उनीहरू रहेकै ठाउँमा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले नागरिक खोज्दै सेवा केन्द्रसम्म पुगेर सेवा दिँदा स्थानीय सरकारप्रति नागरिकको भरोसा थप बलियो हुने अपेक्षा गरिएको छ।