२२ भदौ काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएपछि राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।राष्ट्रपति पौडेलले आजै बाढीपहिरो प्रभावित क्षेत्र पुगेर क्षतिको स्थलगत अवलोकन गरेका थिए। उनले प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्धार तथा राहतको अवस्था र मानवीय संकटबारे नेपाली सेना तथा सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएका थिए।
भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहे पनि प्रभावित क्षेत्रमा मानवीय संकट गम्भीर बनेको छ।
प्राप्त विवरणअनुसार उक्त विपद्मा हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै बेपत्ता छन्। राष्ट्रपति पौडेलको सम्बोधनमा बाढीपहिरोबाट सिर्जित संकट, प्रभावित नागरिकको अवस्था तथा राज्यका तर्फबाट भइरहेका प्रयासबारे धारणा आउने अपेक्षा गरिएको छ।