२४ भदौ काठमाडौं — बाढी तथा डुबानबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा वाईसिएल नेपालले दैनिक करिब ६ सय युवा परिचालन गरी उद्धार, राहत तथा श्रमदान अभियानलाई निरन्तरता दिएको छ।
बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी घरभित्र पसेको माटो तथा बालुवा पन्छाउने, पुरिएका सामान सुरक्षित रूपमा निकाल्ने, घर तथा आसपासको क्षेत्र सफा गर्ने लगायतका काममा वाईसिएलका स्वयंसेवकहरू सक्रिय छन्।
यसैक्रममा भदौ २३ गते नुवाकोटको बेलकोटगढी नगरपालिका–७, ठूलो खोला तथा धादिङको गजुरी गाउँपालिका–५, गलौदी क्षेत्रमा वाईसिएल नेपालका स्वयंसेवकहरूले श्रमदान गरेका छन्।
बाढीका कारण डुबानमा परेका घरभित्र थुप्रिएको माटो, बालुवा तथा फोहोर हटाउनुका साथै घरभित्र रहेका सामानहरू सुरक्षित रूपमा बाहिर निकाल्ने काम गरिएको वाईसिएल नेपालले जनाएको छ।
बाढीले घरभित्रसम्म माटो र बालुवा थुपारेपछि प्रभावित परिवारलाई दैनिक जीवनमा फर्किन कठिनाइ भइरहेको अवस्थामा स्वयंसेवकहरूले स्थानीयवासीसँग समन्वय गरी आवश्यकताका आधारमा श्रमदान गर्दै आएका छन्।वाईसिएल नेपालका केन्द्रीय सचिव तथा प्रचार–प्रसार उपप्रमुख धिरज उपरकोटीका अनुसार प्रभावित क्षेत्रमा पुगेर स्थानीय जनतासँग समन्वय गर्दै सबैभन्दा तत्काल आवश्यक कामलाई प्राथमिकता दिइएको छ।
‘डुबानमा परेका घरमा स्थानीय जनतासँग समन्वय गरेर पहिले आवश्यक सामान सुरक्षित रूपमा निकाल्ने र त्यसपछि माटो तथा बालुवा पन्छाएर घर सफा गर्ने कामलाई प्राथमिकता दिएका छौँ,’ उपरकोटीले भन्नुभयो, ‘प्रभावित परिवारलाई तत्काल राहतसँगै आफ्नो घरमा फर्किन सहज वातावरण बनाउन श्रमदान अभियानलाई निरन्तरता दिइरहेका छौँ।’
उनका अनुसार भदौ १० गते बाढी आएको दिनदेखि नै वाईसिएल नेपाल उद्धार तथा राहत कार्यमा सक्रिय रहँदै आएको छ। अहिले उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनःसरसफाइ तथा श्रमदानलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ।
वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली र महासचिव गणेश शाहीको नेतृत्वमा बागमती प्रदेश तथा विशेष प्रदेशअन्तर्गतका वाईसिएलका टोलीहरू बाढी प्रभावित क्षेत्रमा परिचालित छन्।रसुवा, नुवाकोट र धादिङका विभिन्न प्रभावित क्षेत्रमा दैनिक श्रमदान जारी रहेको वाईसिएल नेपालले जनाएको छ। युवाहरू प्रभावित घरमा थुप्रिएको माटो तथा बालुवा हटाउने, घरभित्रका सामान निकाल्ने र सरसफाइ गर्ने काममा निरन्तर खटिरहेका छन्।
वाईसिएल नेपालले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित बस्तीलाई पुनःस्थापित गर्न र सामान्य जनजीवनमा फर्काउन आवश्यक श्रमदान तथा स्वयंसेवी गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।