१५ जेठ काठमाडौ । हाई अल्टिच्युट खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ ।
भू-स्वर्गकारुपमा परिचित खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलालाई लक्षित गर्दै हुने (हाई अल्टिच्युट) खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिताका खेलाडीहरूलाई आइतबार एक कार्यक्रमका बिच टिसर्ट, क्याप हस्तान्तरण तथा लोगो अनावरण गरिएको आयोजकले जनाएको छ ।
कार्य तालिमका अनुसार ज्येष्ठ १३ देखि १६ गते सम्म खप्तड क्षेत्रमा भलिबल, देउडा, घोडा दौड प्रतियोगिता सञ्चालन भइरहेका आयोजकले जनाएको छ । त्यस्तै १६ गते जिल्ला सदरमुकाम सिलगढीको टुडीखेलमा सुदूर पश्चिमको कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै ज्येष्ठ १७ गते पुरुषहरूका लागि हाइ अल्टिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिर सम्म, महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिर सम्म प्रतियोगिता गरिने भएको छ ।
खप्तड– शैलेश्वरि म्याराथन ४२ किलोमिटर पुरुष तर्फ प्रथम हुनेले १ लाख २५ हजार, दोस्रो हुनेले ८० हजार, तेस्रो हुनेले ५० हजार नगद र महिला तर्फ प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । हाई अल्टिच्युट म्याराथन प्रतियोगितामा एक सय जना सहभागिता रहने छन् जसमा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।