१८ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्दैछन्। रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकारका अनुसार बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गर्नेछन्। प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ।
भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो। उद्घाटन गर्ने भएपछि बुधबार पनि परीक्षण गरिएको थियो ।उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल सेवा भने कटहरीसम्म रेलमार्ग निर्माण भएपछि मात्रै सञ्चालन हुनेछ। भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भएको थियो। जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ।बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ।
बथनाहादेखि बुधनगरसम्म (भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर) रेलमार्ग निर्माण भने चार वर्षअघि नै पूरा भएको थियो। दुई प्रधानमन्त्रीले रेलवेको उद्घाटन गरे पनि १० किलोमिटर क्षेत्रको काम कहिले सकिन्छ टुंगो छैन। विभागका प्रवक्ता चित्रकारका अनुसार जग्गा प्राप्ति विवादका कारण कटहरीको हुलाकी राजमार्गबाट उत्तर.तर्फको काम अघि बढेको छैन।
भारतीय पक्षको आर्थिक र प्राविधिक सहयोगमा सन् २०११ मा सम्झौता गरी निर्माण सुरु भएको रेल परियोजनाको सम्पन्न गर्ने समय भने नतोकिएको उनले बताए। ‘प्रोजेक्टमा निर्माण अवधि हुन्छ, तर रेलवेमा तोकिएको छैन’ उनले भने, ‘आर्थिक र प्राविधिक पक्ष भारतीय पक्षले हेर्छ। परियोजना निर्माणको ठेक्का ३ अर्ब ७३ करोड भारतीय रुपैयाँमा इरकोन नामक भारतीय कम्पनीले लिएको थियो। आर्थिक र प्राविधिक लगानी भारतको भएकाले नेपाल पक्षले लगानीको विषयमा बताएको छैन।