विराटनगरस्थित रानी भन्सार नाकाबाट दैनिक सरदर ३ सय ट्रक नेपाल आउने गरेको छ। जसमा झण्डै ४ हजार ५ सय टन मालवस्तु हुन्छ। ८० प्रतिशत मालवस्तु भारतबाट र २० प्रतिशत मालवस्तु तेस्रो मुलुकबाट आउने गरेको छ’, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयस पोखरेलले भने, ‘कार्गो रेल नियमित सञ्चालन हुँदा तेस्रो देशबाट आउने शतप्रतिशत र भारतीय बजारबाट आउनेमध्ये ६० प्रतिशतभन्दा धेरै सामान रेलबाटै आउने हाम्रो अनुमान छ।’
बथनाहा – कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ।कटहरीमा लगभग ६ विगाहा जमिनको मुआब्जा विवादले काम रोकिएको छ। बिहारको बथनाहाबाट मोरङको कटहरीसम्मको रेलको लिक निर्माण कार्य २०६८ मा सुरू भएको थियो।रेलको लिक निर्माण कार्यको प्रारम्भिक लक्ष्य अनुसार सबै काम २०७३ मै सकिनुपर्ने थियो।
सरकारले अदालतको फैसला अनुसार मुआब्जा दिनै नचाहेको भन्दै कटहरीका जग्गाधनीहरू फेरि सर्वोच्च पुगेका छन्। यही विवादले कटहरी क्षेत्रमा लिक बिछ्याउने काम अघि बढ्न सकेको छैन। बथनाहा रेल–वे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको दूरीमा पहिलो पटक २०७६ कात्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो। २०७६ सालमै सफल परीक्षण भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए।