२३ जेठ काठमाडौ । एप्पलको प्रतीक्षित एआररभीआर हेडसेट सार्वजनिक भएको छ । सोमबारबाट जारी वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२३ को अवसरमा कम्पनीले आफ्नो पहिलो हेडसेट सार्वजनिक गरेको हो ।एप्पलले उक्त हेडसेटलाई हेडसेट नभनेरर ‘स्पेसल कम्प्युटर नाम दिएको छ ।
जसको डिस्प्ले सिस्टममा दुई करोड ३० लाख बढी पिक्सेल रहेका छन् । यसको अर्थ यसमा फोरके टीभीभन्दा राम्रो अनुभव पाउन सकिने दावी कम्पनीको छ। यसमा दुई ओटा माइक्रो ओएलईडी स्क्रिन रहेका छन् ।
आर वान चिपसिट, १२ ओटा क्यामेरा, पाँच ओटा सेन्सर र छ ओटा माइक समावेश गरिएको छ । यसले प्रयोगकर्तालाई भिडिओमा भएका हरेक कुरा आफ्नै अघि भएको अनुभव दिने कम्पनीले जनाएको छ । आर वान चिपले तस्बिरलाई १२ मिलिसेकेन्डमा डिस्प्लेमा स्ट्रिम गर्छ ।
डिभाइस अनलक गर्न यसमा अप्टिकल आइडी फिचर उपलब्ध गराइएको छ । यूआईको कुरा गर्नुपर्दा भिजन ओएस युआईलाई आँखा, हात र आवाजले नै नियन्त्रण गर्न सकिन्छ । भौतिक रूपमा छोएर कन्ट्रोल गर्नका लागि यसमा कुनै किसिमका बटनहरू उपलब्ध छैनन् ।त्यस्तै हेडसेटबाटै आँखाले हेरेर एप ब्राउज गर्न, औलाहरू चलाएर सेलेक्ट गर्न, हातका नाडी सहायताले स्क्रोल गर्न सकिन्छ ।
पर्सोना प्रयोगकर्ताको डिजिटल स्वरूप हो । यो एप्पलको सबैभन्दा अत्याधुनिक मेसिन लर्निङ प्रविधिहरू प्रयोग गरी तयार पारिएको फिचर हो । जसले वास्तविक समयमा अनुहार र हातको चाललाई दर्शाउँछ । यसबाट तपाईं एकै पटक फिल्म हेर्न, एप ब्राउज गर्न र प्रेजेन्टेसन प्रस्तुत दिन समेत सक्नुहुन्छ । भिजन ओएसमा रहेको थ्रीडी इन्टरफेसले एपलाई आफ्नै अगाडि भएको अनुभव दिन्छ । जसलाई म्याजिक कीबोर्ड प्रयग गरेर नियन्त्रण गर्न सकिन्छ । भिजन प्रोले कुनै पनि स्पेसलाई निजी फिल्म थ्रेटरका रूपमा प्रयोग गर्ने अनुमति दिन्छ । यसको अर्थ तपाईंले भिजन प्रोमा १०० फिट चौडाइ भएको भर्चुअल स्क्रिन बनाउन सक्नुहुन्छ ।