२३जेठ काठमाडौ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका छन् ।
महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो ।
काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गर्नुपर्ने छ ।काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएको छ।