२५ जेठ काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गरेका छन् ।अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरू, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गरेका छन् । विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै मन्त्री महतले मुख्यतः पूर्वाधार विकासमा जोड दिन आग्रह गरे।
पूर्वाधार विकास र सामाजिक विकासका सूचकहरुवीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरिब तथा पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाहरूको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट ससाना बजारहरूमा उनीहरूको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरहरूमा पहुँच विस्तार हुँदै जाने धारणा राखेका छन् ।
मन्त्री महतले कोभिड १९ को कारण जनजीवनमा प्रतिकूल प्रभाव पारेको भएपनि सूचना प्रविधिको विकासमा नयाँ अवसर सिर्जना भएको तथा कोभिड पश्चात् पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको बताए । सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने तर्फ इङ्गित गर्दै उनले साँवा व्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापन तर्फ पनि सचेत रहनु पर्नेमा जोड दिए । साथै उनले नेपालले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेको बताए। सो अवसरमा विश्व बैङ्कका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।