२५ जेठ काठमाडौ । भारतीय अवरोधपछि नेपालमा चीनबाट विस्फोटक पदार्थ आपूर्ति थालिएको छ । विकास निर्माणका परियोजनामा विस्फोटक पदार्थ आपूर्तिमा भारतले अवरोध गरेपछि निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट विस्फोटक पदार्थ भित्र्याउन सुरु गरेका हुन् ।
भारतको ९ महिनादेखिको निरन्तरको अवरोध पछि पछिल्लो दुई साता अवधिमा २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरिएको स्रोतले जनाएको छ ।‘भारतीय अवरोधका कारण शिथिल बनेका परियोजनाहरुका लागि वैकल्पिक माध्यमबाट विस्फोटक पदार्थ आयात थालिएको छ,’ आयातकर्ता एक व्यवसायीले अनलाइनखबरसँग भने, ‘पहिलो लटमा ९० र दोस्रो लटमा १४० मेट्रिक टन विस्फोटक पदार्थ नेपाल भित्रिएका छन ।
सुवागढी नाका भएर भित्रिएको सो विस्फोटक पदार्थ चिनियाँ ठेक्काका विकास र औद्योगिक परियोजनामा प्रयोग हुनेछ। मन्त्रलयकाअनुसार चिनयाँ नाका भएर विस्फोटक पदार्थ आयात गर्दा हालको लागत १।६ प्रतशितले महँगो भएको छ ।भारतीय पक्षले ९ महिनादेखि नेपालमा विस्फोटक पदार्थ र यसको कच्चा पदार्थ आयातमा अवरोध गरिरहेको छ । चिनीयाँ आयोजनालाई प्रभावित गर्ने उद्देश्यले भारतले गरको अवरोधले नेपाली सेनाको आयोना, विस्फोटक पदार्थ आयात र उत्पादन समेत प्रभावित बनेको छ ।
७८ मेगावट क्षमताको सान्जेन जलविद्युत परियोजना, १ सय ४० मेगावटको तनहुँ जलविद्युत आयोजना, १ सय २१ मेगावट क्षमताको माथिल्लो त्रिशूली र १ सय २० मेगावटको लाङटाङ–भोटेकोसी जलविद्युत परियोजनाले काम प्रभावित भएको भन्दै गृह र रक्षा मन्त्रालयमा गुनासो गरेका थिए । १७ देखि २० जेठमा भएको प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय पक्षसँग अनौपचारिक रुपमा विस्फोटक पदार्थ सहजीकरणका लागि आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको अधिकारीहरुले बताएका छन् ।