२८ जेठ काठमाडौ । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको आयोजित एसियाली बीमा सम्मेलन सम्पन्न भएको छ ।तीन दिनसम्म भएको सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुबीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेकाे थियाे ।
सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताए ।
अध्यक्ष सिलवालले जोखिम व्यवस्थापन, बीमा क्षेत्रमा नवीनतम् प्रविधि र डिजिटल प्रणालीको महत्व, बीमाको पहुँच वृद्धि, नियामक निकायको क्षमता अभिवृद्धि लगायतका विषयमा भएका प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू उपलब्धीमूलक भएको बताए ।बीमा क्षेत्रका नयाँ नयाँ जोखिम, जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापनमा नियामक निकायको भूमिका, बीमा व्यवसायको विविधता, स्वच्छता र समावेशिता, नवीनतम् प्रविधि तथा डिजिटल प्रणालीको प्रयोग, बीमाको पहुँच वृद्धि, नियामक निकायहरूबीच सम्बन्ध सुदढीकरण तथा साझेदारी, जोखिममा आधारित पूँजी, कृषि बीमा लगायतका विषयहरूमा कार्यपत्र प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू भएका थिए ।