Logo

मंगलवार, श्रावण १२ गते २०८३

एमबीबीएस पढ्ने विद्यार्थी ६६ करोडको ‘क्रिप्टो’ कारोबारी ! अनुसन्धानमा प्रहरीलाई सकस

एमबीबीएस पढ्ने विद्यार्थी ६६ करोडको ‘क्रिप्टो’ कारोबारी ! अनुसन्धानमा प्रहरीलाई सकस

जोईन खबर

७, बैशाख २०७९
  • 1.3K
    SHARES
  • एमबीबीएस पढ्ने विद्यार्थी ६६ करोडको ‘क्रिप्टो’ कारोबारी ! अनुसन्धानमा प्रहरीलाई सकस

    काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सोमबार काठमाडौंबाट तीनजना पक्राउ परे । प्रहरीका अनुसार उनीहरूले कारोबार गरेको रकम ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ थियो ।

    images

    पक्राउ पर्नेहरूमा झापाका २२ वर्षीय अनुप मिश्र, काभ्रेका २४ वर्षीय दिपेश थापा र काठमाडौं, बाफलका २७ वर्षीय राहुल चचान हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण पंगेनीका अनुसार चचान र मिश्र विद्यार्थी हुन् । थापाको परिवार व्यापारमा संलग्न छ । उनका अनुसार सुरुमा प्रहरीलाई उनीहरूको शंकास्पद कारोबारबारे सूचना आएको थियो ।

    सोही सूचना पछ्याउँदै जाँदा महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये सबैभन्दा बढी कारोबार गरेका थिए, २७ वर्षीय अनुप मिश्रले । उनले सन् २०२१ को मेदेखि हालसम्म बाइनान्स खाता प्रयोग गरेर यूएसडीटी, ईटीएच, एडीए, भेट, अल्फालगायत २० वटा क्रिप्टोकरेन्सीहरूमा ३५ करोड ४६ लाख ८३ हजार ६०० रुपैयाँबराबरको कारोबार गरेको देखिएको छ ।

    उनको बाइनान्स खातामा अमेरिकी डलर १२ हजार ८३२ बराबरको बिटक्वाइन समेत देखिएको छ । पेसाले उनी विद्यार्थी हुन् । प्रहरीका अनुसार उनी एमबीबीएस चौथो वर्षमा अध्ययनरत थिए ।

    अर्का पक्राउ परेका थापाले सन् २०२१ मे देखि हालसम्म दुईवटा बाइनान्स खातामार्फत बीटीटी, यूएसडीटीलगायत सात क्रिप्टोकरेन्सीहरूमार्फत नेपाली रुपैयाँ २४ करोड ७९ लाख ५६ हजार ९०० बराबरको कारोबार गरेको देखिएको छ ।

    राहुल चचानले करिब एक वर्षअघिदेखि हालसम्म २० वटा क्रिप्टोकरेन्सीहरू ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँबराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । उनी पनि विद्यार्थी हुन् ।

    महाशाखाका एसपी कोइरालाका अनुसार उनीहरूले दैनिक पाँच हजारदेखि ५० हजारसम्म यूएसडीटीको कारोबार गर्ने गरेको खुलेको छ । उनीहरूविरुद्ध प्रहरी अनुसन्धान जारी छ ।

    एसपी कोइरालाले भने, “प्रारम्भिक रूपमा हेर्दा उनीहरूले प्रयोग गरेको डिभाइस र कारोबार हिस्ट्री हेर्दा ६६ करोड रुपैयाँबराबरको कारोबार देखिएको हो । मोबाइललगायत अन्य प्राविधिक अनुसन्धान गर्दा थप कुरा खुल्न सक्छ ।”

    प्रहरीका अनुसार यसमा सबै कारोबार डलरमा हुन्छ । एक प्रहरी अधिकारीका अनुसार क्रिप्टोको कारोबार गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्छन् । उनीहरूले अरूको नाममा बैंक खाता र बाइनान्स खाता खोल्न लगाउँछन् । जसमा लगानी गर्दा दैनिक कमिसन प्राप्त हुने बताउँछन् । यसमा सयौँ व्यक्तिले लगानी गर्न सक्छन् ।

    क्रिप्टोहरू वान एक्स, बेट, ह्यापर फन्डलगातय अनलाइन प्लेफर्महरूमा लगानी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । व्यापरिक प्रयोजनका सामग्रीहरू विदेशबाट आयात गर्दा समेत अनलाइनमार्फत क्रिप्टोकै रूपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको देखिएको छ ।

    अवैध कारोबार भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरूले आफ्नो पहिचान गोप्य राखी अन्य सयौँजना व्यक्तिहरू प्रयोग गर्ने गर्छन् । उनीहरूकै नाममा बैंक खाता र वाइनान्स खाता खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको छ । कमिसनको लोभमा सयौँजनामा यसमा लगानी गर्ने सम्भावना रहन्छ ।

    तीनजनाले गरेको ६६ करोडको कारोबारमा कतिजनाको लगानी थियो भन्ने अनुसन्धानबाट खुल्नेछ ।

    प्राविधिक अनुसन्धान भएकाले केही कठिनाइ भएको प्रहरी अधिकारी बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट घटनाको थप अनुसन्धान हुँदै छ । परिसरका अधिकारीहरूका अनुसार प्रहरीमा क्रिप्टो कारोबारबारे दक्ष जनशक्ति नहुँदा अनुसन्धानमा केही जटिलताहरू छन् । अनुसन्धानमा बाहिरका जानकारी राख्ने व्यक्तिको सहयोग पनि प्रहरीले लिने गरेको अधिकारीहरू बताउँछन् ।

    नेपालमा क्रिप्टो नयाँ कारोबार हो । नेपाल राष्ट्र बैंकले यसलाई गैरकानुनी भनेको छ । पक्राउ परेका तीनैजनाले छुट्टाछुट्टै कारोबार गरे पनि एकार्कासँग परिचित रहेको प्रहरी भनाइ छ । उनीहरूभन्दा माथि पनि कारोबारी हुन सक्ने र उनीहरूको भने पहिचान गर्न कठिन हुने प्रहरीको जिकिर छ ।

    तेस्रो मुलुकबाट महँगो मूल्यमा किनेको समान भ्याट छलीका लागि सस्तो बिल बनाएर ल्याउने र त्यसको भुक्तानी क्रिप्टोकरेन्सीबाट हुन सक्ने प्रहरी आशंका छ । भुक्तानी गर्दा वा इलेक्ट्रोनिक आईडीमार्फत हुने भएकाले पैसा तिर्नेले वा दिनेले पनि कसलाई दिए भनेर जानकारी नहुने प्रहरी अधिकारीहरू बताउँछन् ।

    नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबार गर्नेको संख्या बढ्दो क्रममा छ । देशका अरू स्थानको तुलनामा काठमाडौं उपत्यकामा क्रिप्टोकरेन्सी कारोबारी बढी सक्रिय रहेको प्रहरी दाबी छ ।

    क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ परेकाहरूलाई बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइन्छ ।

    यसअघि पनि काठमाडौंमा दुईपटक गरेर पाँचजना क्रिप्टोकरेन्सी कारोबारी पक्राउ परिसकेका छन् ।

    प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - १२:५७:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको