२६ भदौ काठमाडौँ । पैसा अभावकै कारण गर्भवती महिलाले अस्पतालको पेटीमा बच्चा जन्माउनुपरेको घटनालाई लिएर सांसद खुशबु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह र स्वास्थ्य मन्त्रीसँग जवाफ मागेकी छन्।
संसदमा बोल्दै ओलीले प्रधानमन्त्री शाहले चुनावका बेला ‘पैसा नहुनेले पनि उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो’ भन्दै अघि सारेको प्रतिबद्धता स्मरण गराउँदै उक्त एजेन्डा कार्यान्वयनको अवस्था के छ भनेर प्रश्न गरिन्।
उनले बबिता नाम गरेकी महिलाको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उपचारका लागि आवश्यक रकम नहुँदा अस्पतालको पेटीमै बच्चा जन्माउनुपरेको बताइन्। उनका अनुसार बबिताका श्रीमान्सँग दुई हजार रुपैयाँ थियो। उपचारका लागि थप १ हजार २ सय रुपैयाँ आवश्यक भएपछि पैसा खोज्न उनी बाहिर गएको समयमा बबिताले अस्पतालको पेटीमै बच्चा जन्माएकी थिइन्।ओलीले उक्त घटनाले देशको स्वास्थ्य प्रणाली र सरकारको नीतिमाथि गम्भीर प्रश्न उठाएको बताइन्।
“म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु—तपाईंले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छरु विशेषगरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छरु” उनले प्रश्न गरिन्।
स्वास्थ्य मन्त्रालयले गरिब तथा विपन्न नागरिकलाई सहज र निःशुल्क उपचार उपलब्ध गराउने प्रधानमन्त्रीको एजेन्डा कार्यान्वयनका लागि अहिलेसम्म नीति तथा नियममा के–कस्ता परिमार्जन गरेको छ र यस विषयमा मन्त्रालयमा के–कस्तो बहस तथा तयारी भएको छ भन्नेबारे पनि ओलीले जवाफ मागिन्।
उनले अस्पतालको पेटीमा बच्चा जन्मिएको घटनालाई केवल एउटा परिवारको पीडाका रूपमा मात्र नहेर्न आग्रह गर्दै यसले राज्यको स्वास्थ्य सेवाको पहुँचबारे गम्भीर प्रश्न खडा गरेको बताइन्।
“त्यो रात एउटा शिशु मात्र जन्मिएको होइन, एउटा प्रश्न पनि जन्मिएको हो। त्यो प्रश्न हो—के गरिब भएर जन्मिनु यो देशमा अपराध होरु” ओलीले भनिन्।
स्वास्थ्य सेवा नागरिकको आर्थिक अवस्थाका आधारमा निर्धारण हुन नहुने भन्दै उनले गरिब तथा विपन्न नागरिकले उपचार नपाउने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।
ओलीले उक्त घटनाबारे प्रधानमन्त्री शाह र स्वास्थ्य मन्त्रीले स्पष्ट जवाफ दिने अपेक्षा व्यक्त गर्दै भनिन्, “यसको जवाफ स्वास्थ्य मन्त्रीज्यू र प्रधानमन्त्रीज्यूले दिनु पर्ने बताए ।