३० जेठ काठमाडौ । नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो । विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइडबडी जहाजबाट नै सुरु भएको थियो । २०७९ को जेठ २ गते कुवेतको जजिरा एयरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो ।
निगमले सातामा २ वटा उडान क्वालालम्पुरबाट भैरहवा गर्न लागेको हो । निगमले मङ्गलवार र शनिबार गरी २ वटा उडान गर्ने र निगमले काठमाडौँ–क्वालालम्पुर–गौतम बुद्ध विमानस्थल–काठमाडौँ उडान गर्न लागेको जनाएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एयरलाइन्सले भने उडान बन्द गरिसकेका छन् ।यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो । हिमालयले भने कात्तिक २७ गतेबाट उडान सुरु गरेको थियो ।