३१ जेठ काठमाडाै । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि बिहीबार बोलाइएको छ ।बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले भोलि बिहान ८ बजेका लागि बोलाउने निर्णय गरेको हो।समितिले उजुरीकर्ताहरुसँग करिब २० मिनेटसम्म छलफल गरेको थियो। तर उजुरीको विषयमा छलफल हुन सकेन। त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो ।गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ । संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ५÷५ जना छन् । कांग्रेसका तर्फबाट रमेश लेखक,ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य छन् ।नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहेका छन् ।माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।