३१ जेठ काठमाडौ । मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री धमाधम हटाउन थालिएका छन् ।सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, कञ्चनपुरले जिल्लाको लम्की, चिसापानी, टीकापुर, बौनिया, सुखड्, साढे पानी, धनगढी, अत्तरियालगायत बजारमा राखिएका प्रचार सामग्री धमाधम हटाउन थालेको हो ।
उनले भने, ‘हामीले धनगढीबाट सुरु गरेको अभियान जिल्लाका मुख्य मुख्य सहर तथा पूर्वपश्चिम राजमार्गमा राखिएका प्रचार बोर्डहरू हटाउन कर्मचारीको टोली नै परिचालन गरेका छौँ, त्यस्ता सामग्रीको प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था लागू गर्न आम नागरिकलाई सचेतसमेत गराउँदै आएका छौँ ।
टोलीले लम्कीमा ३०, चिसापानीमा ७०, टीकापुरमा ५० गरी अहिलेसम्म जिल्लामा दुई सय बढी होटेल, चोक तथा चौराहाबाट त्यस्ता सामग्री हटाएको स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका सूचना अधिकृत लालप्रसाद न्यौपानेले बताए ।
सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, प्रदेश जनस्वास्थ्य ऐन २०७६, विज्ञापन बोर्डको परिपत्र र सम्मानित सर्वोच्च अदालतको २०७९ फागुन ११ गतेको अन्तरिम आदेशका आधारमा प्रचार सामग्री हटाउन सुरु गरिएको केन्द्रले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीले २०७९ साल चैत ४ गते जिल्लाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।