३२ जेठ काठमाडौ । मैले व्यक्तिगत करदाता नम्बर लिएको धेरै वर्ष भए पनि अहिलेसम्म कर चुक्ता लिएको थिईन। एउटा पब्लिक कम्पनीमा सञ्चालक बन्न उम्मेद्वारी दिने प्रयोजनका लागि कर चुक्ता प्रमाण पत्र चाहिने भयोहालैको पूँजीगत लाभ कर विवाद समाधान गर्न अग्रमोर्चामा रहेर अर्थ मन्त्रालयमा सहमति गरेको हुनाले गत वर्ष अर्थात २०७८/७९ को कर चुक्ता लिएर सहमति पालना भए नभएको जाँच्ने पनि विचार आयो।
नेपाल स्टक एक्सचेञ्जले मेरो अग्रिम आय कर कट्टी गरी दाखिला गरेको भनी दिएको निस्सा लिएर जेठ २९ गते मैले प्यान नम्बर लिएको आन्तरिक राजश्व कार्यालय, टंगालको कार्यालय लाजिम्पाट पुगें। कर चुक्ताका लागि दिईने निवेदन भरेर त्यसमा १० रुपैयाँको टिकट टाँसी कर अधिकृत समक्ष पेश गरेंं। कर बुझाएको विवरणमा मैले ईटीडीएस गरेको भनी लेखेको थिएँ।
मैले दिएको निवेदन र नेप्सेले दिएको कर दाखिला निस्सा हेर्ने बित्तिकै कर कार्यालयका कर्मचारी झस्किए। अर्का कर्मचारीलाई पनि मेरो मेरो निवेदन देखाएर खासखुस गर्न थाले।हजुरको त गत वर्षको पूँजीगत लाभ ९० लाखभन्दा बढी रैछ। ब्याज आय, लाभांश आय जोड्दा अरु बढी नै भयो। डि फोर फारम भर्नुपर्छ र मध्यमस्तरीय कर कार्यालय, बबरमहल जानुपर्छ’, उनले फ्याट्टै भने।
अर्थ मन्त्रालयले प्राकृतिक व्यक्तिलाई साढे सात र पाँच प्रतिशत दरको पूँजीगत लाभकर नै अन्तिम भनी स्पष्ट पारिसकेको अवस्थामा फेरि अर्को विवरण भरेर थप कर त तिर्नुपर्ने हैन होला?’उनले अहिले त अन्तिम नै हो तर बजेटमा व्यवस्था भएको आर्थिक विधेयकको बुँदा नं २९ पारित भएर आएमा त्यही अनुसार हुने जवाफ दिए।
केही बेर फोनमा कुरा गरेपछि मलाई हाकिमले भित्र बोलाएर भने कि ‘तपाइँले डि फोर विवरण भर्नुपर्छ अबदेखि हरेक प्राकृतिक व्यक्ति र व्यक्तिगत शेयर लगानीकर्ताले मध्यमस्तरीय करदाता कार्यालय (एमएलटीएस) बबरमहलबाट कर चुक्ता लिनुपर्छ, पहिले यहाँबाट हुन्थ्यो, अब हुँदैन।
